सुदूरपश्चिम प्रदेशसभामा दुई महत्त्वपूर्ण विधेयक पेस

द एभरेष्ट पोष्ट
१२ जेठ २०८३ १२:२४
सुदूरपश्चिम प्रदेशसभामा दुई महत्त्वपूर्ण विधेयक पेस

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेस गरिएका छन्। सामाजिक विकासमन्त्री मेघराज खड्काले ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक’ टेबुल गरेका हुन्।

पश्चिम तराईका थारु समुदायमा सदियौँदेखि प्रचलनमा रहेको बडघर तथा भलमन्सा प्रथालाई कानुनी मान्यता दिन सरकारले यो विधेयक ल्याएको हो। बैठकको शून्य समयमा सांसदहरूले बाजुरा र हुम्लाको सीमा विवादका क्रममा भएको कुटपिट तथा दार्चुलाका शिक्षक बलदेव धामीको आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

यस्तै, सांसदहरूले कैलालीको अलपत्र गुर्गी बाँध सिँचाइ आयोजना पूरा गर्न, टीकापुर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न र कर्णाली नदी कटान नियन्त्रणका लागि ठोस योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनीहरूले गोदावरीमा तोकिएको प्रदेशको स्थायी राजधानी निर्माण प्रक्रिया छिटो अघि बढाउन समेत माग गरे।

सांसद मानबहादुर धामीले सदनमा उठाइएका विषयमा सरकारले जवाफ नदिएको भन्दै सभामुखसँग ’रुलिङ’ माग गरेका थिए। बैठकमा विक्रमसिंह धामी, खुसीराम डगौरा थारु, घनश्याम चौधरीसहित ९ जना सांसदले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस