कैलालीमा आज यस वर्षकै उच्च तापक्रम मापन
धनगढी। तातो लहर (हिट वेभ) चलिरहेको कैलालीमा आज यसवर्षकै उच्च तापक्रम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज ४१.४ डिग्री सेल्सियस तापक्रम मापन भएको हो । यो तापक्रम यसवर्षको सबैभन्दा उच्च रहेको प्रमुख सञ्जयकुमार साहले बताउनुभयो । उहाँले गर्मी अझै बढ्दै जाने भन्दै थप्नुभयो,“यसले धेरै समस्या गर्न सक्ने भएकाले सतर्क रहनू पर्दछ ।”
तातो लहरले गर्दा भारतमा धेरै मान्छेको ज्यानसमेत गइरहेकाले स्वास्थ्य ख्याल गर्न र गर्मीबाट जोगिन आवश्यक रहेको साहकोे भनाइ छ । अत्यधिक गर्मी बढेसंगै तराईको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण मान्छेको दैनिक जीवन प्रभावित भइरहेको छ । यसैगरी, विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ ।
अत्यधिक गर्मीले स्वास्थ्य जोखिम रहने गरेकाले विशेष ख्याल गर्न आवश्यक रहेको चिकित्सकले सुझाएका छन् ।
सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी र सिकलसेलका बिरामीलाई गर्मीले धेरै समस्या गर्ने गरेकाले त्यसबाट जोगिने उपाय अपनाउन र घाममा धेरै बेरसम्म काम नगर्न वा नबस्न आग्रह गर्नु भएको छ ।
उहाँले गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने गरेकाले साधारण स्वास्थ्य अवस्थाका मान्छेले पर्याप्त र दीर्घरोगी बिरामीहरुले चिकित्सकले दिएको सल्लाह अनुसार ठिकमात्रामा पानी पिउनु पर्ने बताउनुभयाे ।
