नेकपाको सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी, के भने रावलले ?

द एभरेष्ट पोष्ट
२७ वैशाख २०८३ १०:५५
नेकपाको सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी, के भने रावलले ?

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । भर्खर सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले रावललाई इन्चार्ज, जोशी र खगराज भट्टलाई सहइन्चार्जको जिम्मेवारी तोकेको थियो ।

तर वरीयतामा असन्तुष्टि जनाएका रावलले आफूसँग पार्टीले कुनै सल्लाह नगरी इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रदेशको इन्चार्जको जिम्मेवारी युवालाई दिन नेतृत्वलाई सुझाव दिएका थिए ।

शनिबार संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा रावलको नाम हटाएर जोशीलाई सुदूरपश्चिमको इन्चार्ज बनाइएको छ । सहइन्चार्जमा भट्ट, प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजकमा लालबहादुर खड्का रहेका छन् । यद्यपि वरीयताको विषयमा आफू काठमाडौँ आएर कुराकानी गर्ने  बताए ।

‘म अहिले अछाममा छु । प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको विषयमा मलाई थाहा छैन । वरियताको विषयमा काठमाडौँ आएपछि कुराकानी गरौँला’, रावलले भने ।

पार्टी एकताको बेला रावलले आफूलाई छैटौँ नम्बरको वरीयता मागेका थिए । तर उनको प्रस्ताव अस्वीकार भएपछि संयोजन समितिको बैठकमै सहभागी भएनन् । वरीयता सम्बन्धी विवाद हुने देखिएपछि संयोजक प्रचण्ड, सहसंयोजक माधव, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसम्म तोकेर बाँकी नेताहरूको वर्णानुक्रम अनुसार वरीयता निर्धारण गरेको छ । -रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस