कञ्चनपुरका अवैध क्लिनिकमा लाग्यो ताला

द एभरेष्ट पोष्ट
२४ वैशाख २०८३ १५:३०
कञ्चनपुरका अवैध क्लिनिकमा लाग्यो ताला

धनगढी। नेपाल मेडिकल काउन्सिलको एक टोलीले कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा सञ्चालित डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश क्लिनिकहरू मापदण्ड विपरीत, बिना चिकित्सक र स्वास्थ्य कार्यालयमा दर्ता नभई सञ्चालन भइरहेको पाइएको छ।

काउन्सिलका सदस्य डा अजय कुमार शाहको नेतृत्वमा आएको विज्ञहरूको टोलीले मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गुलरिया, झलारी र महेन्द्रनगरका क्लिनिकहरूको स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा गुलरियास्थित स्टार डेन्टल क्लिनिकमा गम्भीर लापरबाही भेटिएको छ। सो क्लिनिक स्वास्थ्य कार्यालयमा दर्ता नभएको र कुनै पनि शैक्षिक योग्यता  नभएका व्यक्तिले बिरामीको उपचार गरिरहेको फेला परेको छ। चिकित्सक नराखी आफैले उपचार गर्ने गरेको पाइएपछि प्रहरीको रोहबरमा उक्त क्लिनिक बन्द गराइएको छ।

त्यसैगरी, झलारीको यूएस डेन्टल क्लिनिक, न्यु शाही पन्चकोशी डेन्टल क्लिनिक र महेन्द्रनगरको शाही पन्चकोशी डेन्टल क्लिनिकमा पनि चिकित्सकको अनुपस्थितिमा गैर–कानुनी रूपमा उपचार हुने गरेको र ती क्लिनिकहरू जनस्वास्थ्यमा दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ।

महेन्द्रनगरस्थित यूएन डेन्टल क्लिनिकमा कागजातमा चिकित्सकको नाम राखिए पनि विगत २ वर्षदेखि कुनै पनि चिकित्सक कार्यरत नरहेको र क्लिनिक सञ्चालक आफैले उपचार गर्ने गरेको पाइएको छ। यस्तै, न्यु विष्ट डेन्टल क्लिनिकमा चिकित्सक बिदामा रहेको भनिए पनि क्लिनिकको सरसफाइ र निर्मलीकरणको अवस्था अत्यन्तै न्यून स्तरको पाइएको छ। टोलीले चिकित्सकको उपस्थिति बिना उपचार नगर्न कडा निर्देशन दिएको छ।

अनुगमन टोली आउने सुइँको पाएपछि केही क्लिनिक सञ्चालकहरू क्लिनिक नै बन्द गरेर सम्पर्कविहीन भएका थिए। महाकाली डेन्टल हस्पिटल बिहानैदेखि बन्द गरिएको र सञ्चालकलाई सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको टोलीले जनाएको छ। त्यस्तै, गुलरियाको शाही डेन्टल क्लिनिक र झलारीको राजदेवी डेन्टल क्लिनिक पनि अनुगमनका क्रममा बन्द पाइएका थिए।

केही क्लिनिकहरूले भने कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ। महेन्द्रनगरका हिमाल डेन्टल क्लिनिक, बिमल डेन्टल क्लिनिक र हुनैनाथ डेन्टल क्लिनिकमा चिकित्सकहरूले नै उपचार गरिरहेको र दर्ता प्रक्रिया पनि पुरा भएको पाइएको छ। यद्यपि, राजदेवी डेन्टल क्लिनिक (महेन्द्रनगर) लाई सरसफाइ र सामग्रीहरूको व्यवस्थापनमा सुधार गर्न ध्यानाकर्षण गराइएको छ।

अनुगमन टोलीमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा अजय कुमार शाह, विज्ञ डा। विकास खड्का र डा अमृत राज जैशी सहभागी थिए।

जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका यस्ता अवैध क्लिनिकहरूलाई कानुनी दायरामा ल्याउन र प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्न टोलीले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस