इरानको नयाँ प्रस्तावमाथि समीक्षा गर्दै अमेरिका
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबार इरानद्वारा पठाइएको होर्मुज जलमार्ग पुनः खोल्नेसम्बन्धी नयाँ प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।
दुई महिनाअघि सुरु इरान–अमेरिका द्वन्द्वले विश्व अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ । हाल युद्धविराम लागु भए पनि अमेरिका र इरानबीचको शान्ति वार्ताले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
इरानी समाचार एजेन्सी फार्सका अनुसार, तेहरानले पाकिस्तानका माध्यमबाट अमेरिकालाई लिखित सन्देश पठाउँदै आफ्ना सर्त राखेको छ । यसमा इरानले आफ्नो परमाणु कार्यक्रम र होर्मुज जलमार्गसँग सम्बन्धित विषयलाई ‘रेड लाइन’का रूपमा उल्लेख गरेको छ ।
इरानले जबसम्म अमेरिका र इजरायलले पुनः आक्रमण नगर्ने ग्यारेन्टी गर्दैनन्, तबसम्म आफूले खाडी क्षेत्रमा सुरक्षाको आश्वासन नदिने स्पष्ट पारेको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले इरानको प्रस्तावमाथि छलफल जारी रहेको पुष्टि गरेकी छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो प्रस्ताव अपेक्षा गरिएभन्दा राम्रो रहेको टिप्पणी गरेका छन् । इरान यो प्रस्तावमा कति इमानदार छ भन्ने अझै प्रश्न बाँकी रहेको उनको भनाइ छ ।
इरानी परराष्ट्रमन्त्री अब्बास अरागचीले आफ्नो रुस भ्रमणका क्रममा शान्ति वार्ता असफल हुनुमा अमेरिकालाई जिम्मेवार ठहर्याएका छन् । वासिङटनका अत्यधिक मागका कारण छलफल अगाडि बढ्न नसकेको उनले बताएका थिए ।
इरानले आफ्नो अर्थतन्त्रमा परेको गम्भीर असरबीच यो कूटनीतिक कार्ड खेलेको देखिन्छ । होर्मुज जलमार्गमा नाकाबन्दीका कारण विश्वभर तेल, ग्यास र मलको आपूर्तिमा अवरोध भएको छ । र, अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएको छ ।
तेहरानका नागरिकले चरम महँगी र बेरोजगारीको मार झेलिरहेका छन् । इरानले यो प्रस्तावमार्फत आफ्नो आर्थिक नाकाबन्दी खुकुलो बनाउन खोजेको विश्लेषकको बुझाइ छ ।
