बाजुराका किसान स्याउ खेतीप्रति आकर्षित

द एभरेष्ट पोष्ट
१५ वैशाख २०८३ १५:५४
बाजुराका किसान स्याउ खेतीप्रति आकर्षित

बाजुरा। बाजुराको अधिकांश किसानको स्याउ खेतीप्रति आकर्षण बढेको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेतीप्रति चासो थिएन ।

गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै अहिले यहाँको उत्पादन स्याउ पनि देशको ठुला सहर बजारमा बिक्री हुन थालेपछि किसानको स्याउ खेतीप्रति आकर्षण बढेको हो ।

बुढीनन्दा नगरपालिका–८ कृषक चक्रबहादुर कठायतले भने, “स्याउ खेतीले जीविकोपार्जनमा सहज हुने देखिन थालेको छ ।” उनले भने, “पहिला गाउँमा सडक थिएन । गाडी पनि आउँदैन थिए । अहिले गाउँघरमा सडक पुगेपछि दिनानुदिन गाडी पनि घरको आँगनमै आउजाउ गर्न थालेका छन् । उत्पादन गरेको स्याउ पनि त्यसै गाडीमा राखेर बजार बिक्री गरेका छौं ।”

पहिला गाउँमा धान गहुँ जौ लगायतका अन्नबाली बढी लगाउने गरेको भए पनि अहिले स्याउ खेतीले यहाँका स्थानीयको जिविकोपार्जनमा सहज देखिएकाले त्यो जमिनमा अन्नबालीभन्दा स्याउ खेती बढी गर्ने गरेको कठायतले बताए ।

जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा खप्तड छेडेदह लगायतको ठाउँमा स्याउ उत्पादन हुन्छ । बाजुराको सबैभन्दा बढी बडीमालिका–९ र १० को पाण्डुसैनमा स्याउ बढी उत्पादन हुनेगर्छ । त्यसैगरी हिमाली स्वामिकार्तिक खापर र जगनाथमा स्याउ राम्रो फल्छ । अहिले पछिल्लो समय जिल्लाको गौमुल र बडीमालिका र बुढीगङ्गा नगरपालिकामा समेत स्याउ उत्पादन हुने गरेको छ ।

अहिले यहाँका किसानले उत्पादन गरेको बाजुराको अर्गानिक स्याउ, देशका विभिन्न सहरमा पुग्ने गरेको छ । पहिला बाजुराको हिमाली, स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराको प्रमुख जसिराम साहनीले, बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको बताए । उनले भने, ‘‘पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गथ्र्यो । त्यो स्याउ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउँथे । अहिले जिल्लामा उत्पादन भएको अग्र्यानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुन्छ ।’’

पहिला लोकल स्याउ मात्र उत्पादन हुनेगरेको बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुनेगरेको छ । गत वर्षमा यहाँ एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यसमा झण्डै ६ सय मेट्रिक टन स्याउ देशको विभिन्न सहरमा बिक्री गरेको कार्यालय प्रमुख साहनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस