विकासशील देशमा स्तरोन्नतिपछि औषधि र खोपको मूल्य बढ्ने खतरा

द एभरेष्ट पोष्ट
१३ वैशाख २०८३ १५:१७
विकासशील देशमा स्तरोन्नतिपछि औषधि र खोपको मूल्य बढ्ने खतरा

काठमाण्डौ- उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा आज काडमाण्डौमा आयोजित एक कार्यक्रममा उनले अल्पविकसित देशबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएशन) पछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए ।

महानिर्देशक बस्नेतका अनुसार नेपाल अहिले अल्पविकसित देशको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिइकनै उत्पादन गर्न पाउने विशेष सुविधा उपभोग गरिरहेको छ । तर स्तरोन्नति भएपछि नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य उल्लेख्य बढ्न सक्ने अवस्था रहने उनको भनाइ छ ।

नेपालले भारत र अन्य तेस्रो देशसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्र्याजुएशनपछि नपाउने स्थिति रहने महानिर्देशक बस्नेत बताउछन् । उनका अनुसार यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिनेछ ।

भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै जोखिम न्यूनीकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस