सांसद विश्वराज पोखरेलले मागे माफी

द एभरेष्ट पोष्ट
१२ वैशाख २०८३ १६:१३
सांसद विश्वराज पोखरेलले मागे माफी

गृह जिल्ला ओखलढुङ्गामा एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

पूर्वएआइजी समेत रहेका सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गरेका हुन्। घटनाबाट कसैको आत्मसम्मान र मर्यादामा चोट पुगेको भए उनले हृदयदेखि नै क्षमायाचना गरेका छन्।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै उनको चर्को आलोचना भएको थियो। विज्ञप्तिमा उनले भिडियोलाई काटछाँट गरी अपूर्ण सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरेका छन्। यद्यपि, सार्वजनिक पदमा रहँदा आफूले अझ बढी धैर्य र मर्यादा देखाउनुपर्ने उनले स्विकारेका छन्।

‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु।’

सांसद पोखरेल ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुग्दा उक्त विवाद भएको थियो। आफू विद्यालय जाँदा स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकमाथि आक्रोश पोखेका थिए।

भाइरल भिडियोमा उनले प्रधानाध्यापकलाई भनेका छन्, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ। तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’

पोखरेलले यस घटनाका कारण पार्टी, शुभेच्छुक, विद्यालय परिवार र आम जनसमुदायमा पर्न गएको ठेसप्रति क्षमा माग्दै आगामी दिनमा थप जिम्मेवार र मर्यादित हुने प्रतिबद्धता जनाएका छन्।

May be an illustration of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस