प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने

द एभरेष्ट पोष्ट
७ वैशाख २०८३ ७:३२
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार त्रिविसहित सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने भएका छन् । विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफलका लागि उनले सोमबार सबै उपकुलपतिलाई सिंहदरबार बोलाएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग उनले राख्न लागेको यो पहिलो बैठक हो ।

बैठकमा सबै विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई निमन्त्रणा गरिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री सोमबार दिउँसो १२ बजे विश्वविद्यालयका पदाधिकारीहरूसँग सामूहिक छलफलमा बस्नेछन् । त्यसभन्दा अघि बिहान ११ बजे चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षामन्त्री र चिकित्सा शिक्षा पढाइ हुने विश्वविद्यालयका पदाधिकारी बैठक बस्नेछन् ।

त्यसपछि उपकुलपतिहरूसँग प्रधानमन्त्री शाहको छलफल सुरु हुनेछ । सुरुमा सामूहिक छलफल गरेपछि आवश्यकता परेमा छुट्टाछुट्टै बैठक बस्नेछन् । ‘कुन–कुन विश्वविद्यालय कसरी चलिरहेका छन्, उनीहरूका समस्या के–के छन्, नतिजा प्रकाशनदेखि शैक्षिक क्यालेन्डर, बजेट, विद्यार्थीको अवस्थालगायत विषयमा छलफलका लागि प्रधानमन्त्रीज्यूले सबै विश्वविद्यालयका पदाधिकारीलाई सिंहदरबार बोलाउनुभएको छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘बैठकमा विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले गर्ने गरेका गतिविधि र विद्यार्थी संगठनका असरलगायत विषयमा पनि छलफल गर्नुहुनेछ, त्रिविसहितका विश्वविद्यालयका प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति बस्ने वा नबस्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

प्रधानमन्त्री कार्यालयले सबै उपकुलपतिलाई आ–आफ्नो विश्वविद्यालयको छोटो प्रस्तुतिसमेत ल्याउन निर्देशन दिएका छन् । बैठकमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, कृषि र वन विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, नेपाल विश्वविद्याल र प्रादेशिक विश्वविद्यालयहरू मनमोहन प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, बागमती विश्वविद्यालयका पदाधिकारीहरू बैठकमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस