सुम्पिएको काम जिम्मेवारीपूर्वक पूरा नगरे मार्गप्रशस्त गर्नुपर्छ : सञ्चार मन्त्री तिमिल्सिना

द एभरेष्ट पोष्ट
६ वैशाख २०८३ १७:१२
सुम्पिएको काम जिम्मेवारीपूर्वक पूरा नगरे मार्गप्रशस्त गर्नुपर्छ : सञ्चार मन्त्री तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्नलायक नतिजा देखाउन आग्रह गरेका छन् ।

“कसैलाई पनि गैह्रजिम्मेवार हुने छुट छैन । आफूलाई सुम्पिएको काम कि त जिम्मेवार भएर पूरा गर्नुपर्छ, अन्यथा मार्ग प्रशस्त गर्नुपर्छ,” मन्त्री डा. तिमिल्सिनाले भने । जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जवाफदेही बनाइने उनले स्पष्ट पारे ।

शासन सञ्चालन र सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिँदै मन्त्री डा. तिमिल्सिनाले सरकारी कार्यालयले जनतालाई सेवा दिन बसेको हो भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।

“जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन, अब सबैले काम गर्नुपर्ने समय आएको छ । विगतको तुलनामा आफूलाई सन्तुष्ट हुने गरेर काम गर्न लाग्नुहोस्,” उनले भने ।

‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवाप्रति गर्व गर्नलायक काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिसँगको छलफलमा मन्त्री डा. तिमिल्सिनाले सेवा प्रवाहमा ढिलाइ, गैह्रजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पारे ।

राजनीतिक परिवर्तनको मर्म बुझ्न आग्रह गर्दै उनले नयाँ सरकार किन बनेको हो भन्नेबारे सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै सरकारी सेवामा सुधार गरेर जनतालाई सहज रूपमा सुशासन दिन कर्मचारीतन्त्र लाग्नुपर्ने बताए ।

“समस्या देखाउन सजिलो हुन्छ । तर, अब हामीले आफैँतिर औँला उठाउनुपर्छ । हामीले काम गर्ने भनेको राजनीतिक लाभका लागि नभई देशको सेवाका लागि हो,” मन्त्री डा. तिमिल्सिनाले भने ।

अहिलेको सरकार पारदर्शिता र जवाफदेहिताको जगमा बनेको उल्लेख गर्दै उनले हरेक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखको उपस्थिति थियो । सो अवसरमा जिल्लाको विकास आयोजनाको अवस्थाको सम्बन्धमा पनि मन्त्री र सांसदले जानकारी लिए । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस