पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
काठमाडौँ,१४ चैत ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । प्रहरीले आज बिहान ओलीलाई पक्राउ गरेको हो ।
सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरेको हो ।
शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो ।
उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।
