निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता
काठमाण्डौ- निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीमा रहेको आफ्नो निवासमा फर्किएका छन् ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेको निवासमा फर्किएकी हुन् ।
निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा चुनाव सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति नागरिकको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।’
जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्याउने विश्वास लिएकी छन् ।
गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछि भदौ २७ गतेदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिए । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र चुनावको जिम्मेवारीसहित नयाँ सरकार गठन गरेकी थिए ।
