रास्वपाले आज बालेनलाई दलको नेता छान्दै, भोलि प्रधानमन्त्रीको सपथ लिने
काठमाण्डु – नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपाले वरिष्ठ नेतन बालेन शाहलाई बिहीबार पार्टीको संसदीय दलको नेता चयन गर्दैछ ।
दलको नेता चयन भएपछि शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् । रास्वपाले शाहलाई बिहीबार संसदीय दलको नेता चयन गर्ने र शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी गरेको हो ।
प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।
अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा भाग लिएको थियो ।
केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाइनेछ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
एक नेताका अनुसार केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिमबारे अन्तिम निर्णय हुनेछ । रास्वपाले केही मन्त्रालयहरूको पुनर्संरचना, मर्ज र संख्या घटाउने विषयमा पनि छलफल गरिरहेको छ । नयाँ सरकारका प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा तय गरिएको छ । शुक्रबार दिउँसो १२ : ३४ बजे राष्ट्रपति पौडेलले बालेन्द्रलाई शपथग्रहण गराउनेछन् ।
शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।
