ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न आयोगको सिफारिस

द एभरेष्ट पोष्ट
१२ चैत २०८२ ५:५१
ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाण्डौं, १२ चैत ।
भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा भएको घट्नाको अध्ययनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री  लेखक र प्रहरी महानिरीक्षक  खापुङलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८१ (लापरबाही) र १८२ (हेलचक्र्याइँ) अनुसार अनुसन्धान र अभियोजनका लागि नेपाल सरकारलाई सिफारिस गरेको हो । चार घण्टाभन्दा बढी गोली चलिरहँदा रोक्न कुनै प्रयास नगर्नु नै प्रमुख आधार हो ।

उक्त दफामा ‘कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन’ भन्ने व्यवस्था छ ।

त्यसरी लापरबाहीपूर्ण काम गरी कसैको ज्यान जाने काम गरेमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

सरकारले सार्वजनिक नगर्दै सञ्चारमाध्यममा आएको प्रतिबेदनमा सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि कारबाही सिफारिस गरिएको छ । आयोगले प्रहरी प्रमुख दानबहादुर कार्कीलाई पनि नसियत दिन सिफारिस गरेको छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र जिल्ला प्रशासन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस