बैतडीमा ८७ नयाँ क्षयरोगी फेला
बैतडी- यस वर्ष बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र सिंह कार्कीले बताए।
चालु आर्थिक वर्षमा ५३८ जनामा क्षयरोगको परीक्षण गर्ने लक्ष्य राखिएको थियो। तर, हालसम्म २०३ जनाको मात्रै परीक्षण गरिएको छ, जसमध्ये ८७ जनामा संक्रमण पुष्टि भएको छ। लक्ष्यअनुसार परीक्षण हुन नसक्नु चुनौतीका रूपमा देखिएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोग पहिचान अभियानलाई तीव्र बनाइएको बताए। उनका अनुसार सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालनमा रहेको छ।
