एनआरएनए पुनः एक ढिक्का, अध्यक्ष हेमराज शर्मा चयन
काठमाडौं,१ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट हेमराज शर्मालाई अध्यक्ष चयन भएका छन् ।
काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । सबै पक्षको सहमतीमा शर्मा अध्यक्ष चयन भएका हुन् ।
विगत केही वर्षयता विभाजित र टुटफुटको शिकार भएको एनआरएनए एकताको महाधिवेशनबाट पुनः एक ढिक्का भएको छ । यसअघि डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा रहेका एनआरएनएका दुबै समूह एकता महाधिवेशनबाट एउटै कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सहमत भएका हुन्।
विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका गैरआवासीय नेपालीहरूका दुई संस्थाबीच गत मंसिर दोस्रो साता एक भएर अघि बढ्ने सहमति भएको थियो ।
केसी र श्रेष्ठबीचका दुई संस्थाबीच एकताको लागि पटकपटक प्रयास भएका भए पनि सफल हुन सकेको थिएन ।
मंसिरमा भएको सहमतिसँगै दुई कार्यसमिति एकीकरण भएपछि दुवै अध्यक्षको पद कायम गरी महाधिवेशन गरिएको हो ।
महाधिवेशनले दुवै पक्षबाट ५०र५० प्रतिशतका दरले पदाधिकारी र कार्यसमिति चयन गर्ने सहमति भएको ती पदाधिकारीले बताए ।
सहमति अनुसार, एक अध्यक्ष र दुई महासचिवको पद रहने छ ।
उपाध्यक्ष र अन्य पदाधिकारीको संरचना कस्तो रहने भन्नेबारे अझै सहमति भइसकेको छैन ।
हालसम्म उपाध्यक्षमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल तथा केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति भइसकेको स्रोतले बतायो ।
हाल दुई युवा उपाध्यक्षसहित आठ जना उपाध्यक्षको पद रहेकोमा यो थपिन पनि सक्ने ती पदाधिकारी बताउँछन् ।
महासचिव पदमा केसी समूहबाट डा। चिरञ्जिवि खड्काको नाम तय भइसकेको तर श्रेष्ठ समूहको नाममा सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ ।
यसअघि अध्यक्ष पदमा शर्मासहित रोविन शेरचन र रविन बज्राचार्यले दाबी गरेका थिए ।
यसअघि नै शेरचन र शर्माबीच सहमति भइसकेकोमा आइतबार शर्मालाई समर्थन गर्दै बज्रचार्यले पनि उम्मेदवारी फिर्ता लिए ।
संघको पदाधिकारीको संख्या बढाउँदा विधान संशोधन गर्नुपर्ने हुन्छ । पदाधिकारीको संख्या र नाममा सहमति भइसकेपछि महाधिवेशनबाट विधान संशोधन पारित गरिने स्रोतले बतायो ।
संशोधित विधान परराष्ट्र मन्त्रालयको स्वीकृति पछि मात्रै लागू हुन्छ ।
‘विधान संशोधन भएर आएपछि केही घण्टामै स्वीकृति दिने आश्वासन मन्त्रालयबाट प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘सोमबारसम्म विधान संशोधन र कार्यसमिति चयनको काम सम्पन्न हुनेछ ।’
