कैलालीमा निर्वाचन सुरक्षा तयारी पूरा
कैलाली । कैलालीमा प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको जनाइएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा सुरक्षा परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले केन्द्र, प्रदेश र स्थानीय प्रशासनबीचको समन्वयमा निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा गरिएको बताए । उनले तीनवटै सुरक्षा निकायको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थाको तयारी सम्पन्न गरेको जानकारी दिएका हुन् ।
‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । हाइकमाण्डले सुरक्षा सतर्कता अनुगमन गरिसकेको छ । प्रदेश, जिल्ला र स्थानीय सरक्षा समितिबीच नियमित समन्वय भइरहेको छ,’ उनले भने ।
निर्वाचनमा सबै सुरक्षा निकायको समन्वय र परिचालन भइरहेको रेग्मीको भनाइ छ । ‘कैलालीमा हुन सक्ने कुनै पनि घटनाले सम्पूर्ण सुदूरपश्चिम प्रदेशमा प्रभाव पार्नसक्ने भएकाले नेपाली सेनाको वाहिनी, पृतनापति, सशस्त्र प्रहरी बलको वाहिनी तथा नेपाल प्रहरीका सबै तहका सुरक्षा निकाय सक्रिय रूपमा परिचालित छन्,’ उनले भने ।
जिल्लामा निर्वाचन सुरक्षाको चुनौतीमा निर्वाचन बहिष्कार गर्ने समूह रहेकाले सचेतता अपनाइएको पनि प्रजिअ रेग्मीको भनाइ थियो । निर्वाचन बहिष्कार गर्ने अधिकार भए पनि त्यसमा अवरोधका गतिविधिलाई चुनौतीका रूपमा लिइएको उनको भनाइ छ । ‘बहिष्कार गर्ने अधिकार लोकतान्ति्रक अभ्यासभित्र पर्छ तर अवरोध गर्न पाइँदैन,’ उनले भने, ‘यदि अवरोधको प्रयास भए कानुनी प्रक्रियाअनुसार त्यसलाई व्यवस्थापन गर्ने तयारीमा छौं ।’ यद्यपि निर्वाचन अवरुद्ध हुने अवस्था नआउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
राजनीतिक दलहरूको आमसभा, जुलुस तथा प्रचार–प्रसारका कार्यक्रम व्यवस्थापन गर्दा सम्भावित समस्या आउन सक्ने भन्दै त्यसतर्फ पनि सुरक्षा निकाय सतर्क रहेको उनले जानकारी दिए ।
त्यस्तै, अत्तरिया–चिसापानी खण्डको पूर्व–पश्चिम राजमार्गमा हुनसक्ने दुर्घटना वा गाउँ–बस्तीमा हुने साना घटनालाई राजनीतिकरण गर्ने प्रयास हुन सक्ने भएकाले विशेष निगरानी बढाइएको छ ।
मदिरा निषेध र सीमा–नाका बन्द
निर्वाचनलाई शान्तिपूर्ण बनाउन मदिरा ओसारपसार, बिक्री–वितरण तथा सेवनमा निर्वाचनअगावै निषेध लगाइएको छ । साथै, खुला सीमा ७२ घण्टाअघि नै बन्द गरिने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ । भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि रोक्न संयुक्त निगरानीसमेत सरक्षा निकायले गरिरहेको छ ।
साथै निर्वाचनअघि मनाइने होली पर्वलाई मर्यादित र परम्पराअनुसार मनाउन पनि प्रशासनले आग्रह गरेको छ । सडक जाम हुने गरी डिजे, बाजागाजा प्रयोग गरेमा निगरानी र कारबाही गरिने जनाइएको छ ।
हालसम्म जिल्लामा आचारसंहिताको ठूलो उल्लंघन नभएको जनाउँदै रेग्मीले उल्लंघन भएमा स्पष्टीकरण सोध्ने र आवश्यक परे कारबाही गर्ने स्पष्ट पारे । जिल्लाको सुरक्षा अवस्था उच्च सुरक्षा कमाण्डबाट अनुगमनसमेत भइसकेको उल्लेख गर्दै रेग्मीले कैलालीमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।
कैलालीमा पाँच निर्वाचन क्षेत्र, २ सय ३७ मतदान स्थल र तीअन्तर्गत ६ सय ४१ मतदान केन्द्र रहेका छन् । जसमा ७८ जनाको उम्मेदवारी परेको छ । जिल्लामा ५ लाख ५१ हजार ५२ मतदाता छन् । ती सबै स्थानमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकिएको र आवश्यक परे केन्द्रीय सुरक्षा निकायबाट समेत विशेष सुरक्षा जनशक्ति तयारी अवस्थामा राखिएको प्रजिअ रेग्मीले बताए ।
