बालेनको भाषणलाई सच्याउँदै रविले भने- डोरीले होइन कानूनले बाँध्ने भनेको हो

द एभरेष्ट पोष्ट
१२ फागुन २०८२ १६:२३
बालेनको भाषणलाई सच्याउँदै रविले भने- डोरीले होइन कानूनले बाँध्ने भनेको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको एक अभिव्यक्ति विवादित बनेपछि सच्याउने प्रयास गरेका छन् । आज इटहरीमा बालेनसँग स्टेज सेयर गर्दै उनले निर्माण व्यवसायीलाई फकाउने प्रयास गरे ।

बालेनले केही दिनअघि एक भाषणमा ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो चाँडो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा निर्माण व्यवसायीहरुले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति सच्याउन र माफी माग्न चेतावनी दिएको छ । आज आफ्नो भाषणमा बालेनले यो विषयमा केही टिप्पणी गरेनन् । रविले भने बालेनको भाषणलाई फरक व्याख्या गरे ।

उनले भने, ‘रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ । म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले विज्ञप्ति निकाल्नु पर्दैन । ठूला/ठूला इक्वीपमेन्ट खरिद गर्ने तयारी गर्नुस, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुस । देश विकासको दिशामा अघि बढिसक्यो । हामी असुरक्षित भएका हौं कि भन्नुभएको छ । त्यस्तो हुँदैन। हामीले डोरीले बाँध्ने भनेको होइन, कानूनले बाँध्ने भनेको हो ।’

रवि त्यसपछि कांग्रेस सभापति गगन थापाप्रति सोझिए । थापाले विकासका काम चाँडो गर्न १२/१५ वटा कानून फेर्नुपर्ने बताएका थिए ।

रविले भने, ‘२०/३० वर्ष सांसद र मन्त्री बनेपछि १२/१५ वटा कानून फेर्नुपर्छ भन्ने बल्ल ज्ञान आयो ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस