कैलालीको क्षेत्र नं. ४ का उम्मेदवार भट्टको चुनावी प्रतिबद्धता सार्वजनिक
धनगढी, फागुन ९ गते । नेकपा (एमाले) का उपमहासचिव तथा कैलालीको क्षेत्र नं. ४ का उम्मेदवार पूर्वमन्त्री लेखराज भट्टले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। अत्तरियास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले राष्ट्रिय गौरवका पुराना योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त क्षेत्रबाट दुई पटक जित र दुई पटक पराजय हासिल गरेका भट्टले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण र दोधारा चाँदनी सुक्खा बन्दरगाहको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरेका छन् । औद्योगिक क्षेत्र हरैयालाई विशेष व्यापार क्षेत्रका रूपमा विकास गर्ने, गेटा विमानस्थललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने, सेती लोकमार्गको स्तरोन्नति तथा विस्तारका लागि आवश्यक पहल गर्ने उहाँले चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा रहेको सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालयलाई छ सय शय्याको अस्पतालमा विकास गरी एमबिबिएस पठनपाठन तथा छिटोछरितो र प्रभावकारी स्वास्थ्य सेवाको यथाशीघ्र कार्यान्वयनका लागि पहल गर्ने भट्टको प्रतिबद्धता छ । क्षेत्र नम्बर ४ मा रहेका सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार विकासका साथै सङ्काय तथा विषय विस्तारका लागि पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, शिक्षालाई सर्वसुलभ गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने भट्टले प्रतिबद्धता गरेका छन्।
शिक्षण पेसालाई मर्यादित बनाउन शिक्षक कर्मचारीका सेवासुविधाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । सडक विस्तार तथा स्तरोन्नति अन्तर्गत धनगढी–दिपायल, उरयी नाका (ताक्लाकोट) फास्ट ट्र्याकलगायत यस निर्वाचन क्षेत्रभित्र आवश्यक सडक निर्माण, स्तरोन्नति तथा विस्तार र सडक सञ्जालका लागि पहल गर्ने प्रतिबद्धता भट्टले जनाएका छन् । बाढीपहिरो र नदीजन्य कटान क्षेत्रलाई संरक्षण गर्न आवश्यक स्थानमा तटबन्ध निर्माणका लागि पहल गर्ने भट्टको प्रतिबद्धता छ ।
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको लामो समयदेखि रहेको दीर्घकालीन समस्या समाधान गर्न लालपुर्जा वितरण कार्यलाई शीघ्र पहल गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि आवश्यक गौशाला निर्माण गरी पशुचौपाया संरक्षण गर्न पहल गर्ने प्रतिबद्धता उनको छ । कृषिमा प्राङ्गारिक मलको प्रयोगमा जोड दिन यस क्षेत्रका विभिन्न स्थानमा प्राङ्गारिक मल केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने भट्टको प्रतिबद्धता छ ।
