एमालेले भन्यो– पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउँछौँ

द एभरेष्ट पोष्ट
७ फागुन २०८२ १४:४३
एमालेले भन्यो– पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउँछौँ

काठमाडौं । नेकपा (एमाले)ले पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार (फागुन ७) सार्वजनिक पार्टीको चुनावी घोषणापत्रमा यो लक्ष्य प्राप्तिका निम्ति सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र सामर्थ्य परिचालन गरिने उल्लेख छ ।

“कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र दश वर्षमा दुई सय खर्ब रुपैयाँको पुर्‍याउने छौँ,” घोषणपत्रमा भनिएको छ, “प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर ३ हजार पुर्‍याउने लक्ष्यका साथ सम्पूर्ण राष्ट्रिय स्रोत, साधन र सामर्थ्य परिचालन गर्नेछौँ । समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्छौं ।”

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालीको प्रतिव्यक्ति आय हाल एक हजार ५१७.४ डलर छ । कृषिको आधुनिकीकरण गर्दै यो क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासद्वारा औद्योगिक र सेवामा स्थानान्तरण गरिने एमालेले जनाएको छ ।

“सार्वजनिक संस्थानको कार्यकुशलता अभिवृद्धि गनेछौँ । आगामी पाँच वर्षसम्म पुँजी निर्माण र अनिवार्य दायित्वका खर्चबाहेकका अन्य खर्चहरू कटौती गरी रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नेछौँ,” एमालेले भनेको छ, “बजेटको अंक, निर्धारित समय, नतिजा र गुणस्तरको सीमा उल्लंघन गर्ने वा मापदण्ड पूरा नगर्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था तर्जुमा गरी बजेट कार्यान्वयन गर्नेछौँ ।”

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्न मात्र सार्वजनिक ऋण लिइने एमालेले जनाएको छ ।

सार्वजनिक ऋणलाई राष्ट्रिय सामर्थ्यको सुरक्षित अनुपातभन्दा बढ्न नदिने एमालेको प्रतिबद्धता छ । “मुद्रास्फितिलाई नियन्त्रण गर्नेछौँ । खाद्यसुरक्षा कायम गर्नेछौँ । उत्पादन वृद्धि, मूल्य तथा आपूर्ति नियमन र उपभोक्ता सचेतना वृद्धि गरी उपभोक्त हित संरक्षण गर्नेछौँ,” घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस