२८ दलले बुझाए आयोगमा घोषणा-पत्र

द एभरेष्ट पोष्ट
४ फागुन २०८२ १७:२३
२८ दलले बुझाए आयोगमा घोषणा-पत्र

प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्ममा निर्वाचन आयोगमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्।

आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। २८ वटा दलले सार्वजनिक रूपमा घोषणापत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युष्टि पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले घोषण-पत्र सार्वजनिक गरिसकेका हुन्।

आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूले तोकिएको मितिमा घोषणापत्र सार्वजनिक गर्नुपर्ने कानुनी दायित्व रहेको बताए।

निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलले आफ्ना योजना, कार्यक्रम, विकास निर्माण, सुशासन र मुलुकको अग्रगामी निकासका विषय समेटिएको घोषणापत्र वा प्रतिबद्धता पत्र आयोगमा पेस गर्नुपर्ने बताएका छन्।

कतिपय दलले घोषणापत्रको सट्टा प्रतिबद्धता पत्र पेस गरेको बताउँदै घोषणापत्र आउने क्रम जारी रहेको र सबै दलले पेस गर्नेमा आयोग विश्वस्त रहेको उनले बताए।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार केन्द्रमा चार दलको मात्रै घोषणापत्र दर्ता भएको तथ्याङ्क छ। केही दलले जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाएको भन्ने जानकारी आएको भए पनि केन्द्रमा तोकिएको समयसीमाभित्र चार दलले मात्रै पेस गरेका हुन्।

उनका अनुसार आइतबार बिदाको दिन परेकाले अधिकांश दलले सोमबार दिनभरिमा आफ्ना घोषणापत्र बुझाउने सम्भावना रहेको छ।

आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचार-प्रसार गर्न पाइने व्यवस्था गरेको छ। फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने र मौन अवधिमा कुनै प्रकारको प्रचार-प्रसार गर्न पाइने छैन।

त्यसैगरी, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउँदै दल तथा उम्मेदवारले प्रचार-प्रसार, भेटघाट, सम्पत्तिको प्रयोगलगायत सबै गतिविधि आचारसंहिताको परिधिभित्र रहेर गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस