मतदातालाई पढाउन स्वयंसेवक खटाउँदै आयोग

द एभरेष्ट पोष्ट
२८ माघ २०८२ ७:०५
मतदातालाई पढाउन स्वयंसेवक खटाउँदै आयोग

काठमाडौं ।  मतदाता सहभागिता बढाउने तथा बदर मत कम गर्ने उद्देश्यसहित निर्वाचन आयोगले मतदान शिक्षा विशेष कार्यक्रम सुरु गर्ने भएको छ । आमनागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन विशेष कार्यक्रम तयार पारी लागू गरिएको आयोगले जनाएको छ ।

निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिकाबमोजिम आयोगले कार्यक्रम बनाएको प्रवक्ता नारायण भट्टराईले बताए । ‘मतदाता शिक्षालाई सुदृढ बनाई प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत गरी लागू गरिएको छ,’ उनले भने ।

कार्यक्रममार्फत आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गरिने उनले बताए । ‘आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न खोजिएको छ,’ आयोग प्रवक्ता भट्टराईले भने, ‘यससँगै मतदानको कार्यमा आममतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको उद्देश्य छ ।’

भट्टराईका अनुसार मतदाता शिक्षाका लागि आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गरिनेछ । देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६,७४३ वडामा ३–१७ फागुनसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उनले बताए ।

‘कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्नेछन्,’ उनले भने, ‘योसँगै आमसञ्चारमाध्यम तथा आमपहुँचका कार्यक्रमबाट पनि मतदाता शिक्षा र निर्वाचन प्रचार–प्रसार व्यापक र प्रभावकारी बनाइनेछ ।’

स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नतामार्फत सञ्चालन हुने यो कार्यक्रमले समावेशी सिद्धान्तबमोजिम प्रभावकारी मतदाता शिक्षा प्रवद्र्धन हुने भट्टराईको भनाइ छ ।

मतदाता शिक्षाका लागि आयोगले आवश्यक तयारी गरिसकेको छ । मतदाता शिक्षाका लागि २५ करोड बजेट विनियोजन गरिएको छ । मतदाता शिक्षा तथा तालिम सामग्रीको तयारी र उत्पादन १६ माघमा भइसकेको छ । मतदाता शिक्षासम्बन्धी मुख्य प्रशिक्षकलाई प्रशिक्षण १७ र १८ माघमा भइसकेको छ ।

मतदाता शिक्षा तालिम प्रदेशस्तरमा २० र २१ गते भइसकेको छ । मतदाता शिक्षा सामग्री निर्वाचन कार्यालयमा ढुवानी २६ माघमा भइसकेको छ । अब जिल्लास्तरीय मतदाता शिक्षा कार्यकर्ताको नियुक्ति २८ गते, जिल्लास्तरीय मतदाता शिक्षा कार्यकर्ता तालिम २९ गते र मतदाता शिक्षा कार्यक्रम सञ्चालन (निर्वाचन शिक्षा कार्यकर्ता परिचालन) ३ देखि १७ फागुनसम्म गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस