अन्टार्टिकाको म्याराथनमा नेपाली पोशाकमा दौडिएर जोशीले कायम गरे किर्तिमान

द एभरेष्ट पोष्ट
१९ माघ २०८२ ३:०७
अन्टार्टिकाको म्याराथनमा नेपाली पोशाकमा दौडिएर जोशीले कायम गरे किर्तिमान

केपटाउन(अफ्रिका), ३१ जनवरी ।
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले शनिवार अन्टार्टिकामा नेपाली पोशाकमा म्याराथन पुरा गरेका छन् ।

नेपाली पोशाकमा अन्टार्टिकामा म्याराथन पुरा गर्ने जोशी पहिलो धावक हुन् । उनले अन्टार्टिकामा म्याराथनमा नेपाली पोशाकमा दौडेर किर्तिमान गरेका छन् । कठ्यांग्रिदो माईनस २० डिग्री तापक्रममा शनिवार विहान जोशीले ४२ किमी लामो म्याराथन पुरा गरेका हुन् ।

अन्टार्टिकाको समय अनुसार बिहान ३ बजे म्याराथन शुरु भएको थियो । अन्टार्टिकाको हिँउमा दौरा सुरुवालमा दौडिनु असंभव मानिएको यो दौड उनले सहजै पुरा गरेको बताए ।

वर्ल्ड म्याराथन च्यालेञ्ज अन्तर्गत शनिवार अन्टार्टिकाबाट शुरु भएको ७७७ म्याराथनमा ३२ देशका ५६ धावक सहभागी थिए । जसमध्ये जोशी एक हुन् ।

नेपाली पोशाकमा अन्टार्टिकाको हिउँमा कुदेका जोशीले अन्त्यमा अमेरिकी र नेपाली झण्डा फहराएका थिए ।

सात वटा उद्देश्य सहित सात वटा महादेशमा सात दिनसम्म लगातार सञ्चालन हुने भएको यो म्याराथनलाई ७७७ म्याराथन भनिन्छ ।

२०१५ मा देखि हरेक वर्ष सञ्चालन हुदै आएको यो म्याराथन अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।

नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचारका लागि वर्ल्ड म्याराथनमा दौरा सुरुवालमा दौडिएको जोशीले बताए ।

अन्टार्टिकाको म्याराथन सकेर अफ्रिकाको केप टाउन पुगेका जोशी १ फेब्रअरी (आईतवार) त्यहाँ सञ्चालन हुने म्याराथनमा दौडिनेछन् । अन्टार्टिकाबाट शुरु भएको म्याराथन सातौ दिनमा अमेरिकाको मायामीमा समापन हुने छ । पहिलो अन्टार्टिकामा, दोस्रो केप टाउनमा, तेस्रो म्याराथन २ फेब्रुअरीमा अष्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको दुबईमा, पाँचौ म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैठौ म्याराथन ५ फेब्रुअरीमा ब्राजिलमा र सातौ तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सञ्चालन हुनेछ ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् ।

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिदै आएका छन् । संसारका विभिन्न देशमा झण्डै दुई दर्जनभन्दा बढि म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरुबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढि रकम वान स्टेप फाउण्डेसन मार्फत नेपाल, अमेरिका र अफ्रिकामा बालबालिकाको शिक्षा,स्वास्थ्य, खेलकुद र जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस