तीन दिनमा तहल्का मच्चाएको भाइरल एआई असिस्टेन्ट
काठमाडौँ । मात्र तीन दिनमा एउटा ओपन-सोर्स एआई असिस्टेन्टले इन्टरनेटमा तहल्का मच्चायो, विवादमा फस्यो र अन्ततः आफ्नो नाम बदलेर ‘मोल्टबोट’ को रूपमा पुनरागमन गर्यो । केवल कुराकानीमा मात्र सीमित नभई प्रयोगकर्ताको कम्प्युटरमै छिरेर काम गरिदिने प्रतिज्ञाका साथ आएको यो एआई टुल्सले प्रविधि क्षेत्रलाई निकै तरङ्गित बनाएको छ ।
यस छोटो अवधिमा क्रिप्टो स्क्यामरहरूको आक्रमण, अकाउन्ट ह्याक र एआई कम्पनी ‘एन्थ्रोपिक’ बाट नाम परिवर्तन गर्न आएको चेतावनी जस्ता रोचक घटनाक्रमहरू देखिए ।
अस्ट्रियाली विकासकर्ता पिटर स्टेनबर्गरले निर्माण गरेको यो एआई असिस्टेन्ट ‘सिरी’को वास्तविक विकल्पको रूपमा चर्चामा छ। यो केवल आवाजमा आधारित खेलौना नभई ह्वाट्सएप, टेलिग्राम, स्ल्याक र आईम्यासेज जस्ता एपहरूमा साथी जस्तै बसेर काम गर्ने सहयोगी हो ।
यसले पुराना कुराकानीहरू सम्झन्छ, कामको रिमाइन्डर पठाउँछ र अनुमति दिएमा कम्प्युटरका कमाण्डहरू चलाउने वा कार्यहरू स्वचालित समेत गरिदिन्छ। यो कुनै विशेष हार्डवेयरमा मात्र नभई क्लाउड, च्याटजीपीटी वा जेमिनाई जस्ता ठुला एआई मोडेलहरू प्रयोग गरेर सञ्चालन हुन्छ।
गिटहबमा सार्वजनिक भएको २४ घण्टाभित्रै ९ हजार स्टार पाएको यो प्रोजेक्ट ६० हजार स्टार पुग्दा नपुग्दै विवादमा तानियो। ‘क्लड’ (Clawd) नाम एन्थ्रोपिकको ‘क्लाउड’ (Claude) सँग मिलेको भन्दै ट्रेडमार्कको विवाद आएपछि स्टेनबर्गरले यसलाई ‘मोल्टबोट’ नामाकरण गरे।
नाम परिवर्तन गर्ने प्रक्रियामा बोटहरूले पुरानो युजरनेमहरू कब्जा गर्ने र क्रिप्टो स्क्याम चलाउने प्रयास गरे। यतिसम्म कि एआईलाई आफ्नो लोगो रिडिजाइन गर्न दिँदा झिङ्गे माछाको शरीरमा मानिसको अनुहार भएको अनौठो चित्र बनाएपछि यो इन्टरनेटमा ठुलो मिमसमेत बन्यो।
अराजकताका बिच पनि मोल्टबोटको प्रविधिले धेरैलाई प्रभावित पारेको छ। अधिकांश एआईका लागि वेबसाइट खोलेर प्रश्न सोध्नुपर्ने झन्झट हुन्छ, तर मोल्टबोट प्रयोगकर्ताले दैनिक प्रयोग गर्ने म्यासेजिङ एपभित्रै उपलब्ध हुन्छ।
यसले एआईलाई केवल च्याटबोट मात्र नभई वास्तविक व्यक्तिगत सहयोगीको रूपमा विकास गर्ने बाटो देखाएको छ। एन्ड्रि कार्पाथी जस्ता दिग्गज एआई अनुसन्धानकर्ताले समेत यसको प्रशंसा गरेका छन्। -एजेन्सी
