डोटी एउटै वडाका भट्ट र बिष्टबीच कैलालीमा प्रतिस्पर्धा (चुनावी चर्चा कैलाली ४)
धनगढी, ११ माघ ।
नेकपा एमालेका नेता लेखराज भट्ट र नेपाली काँग्रेसका नेता गोरख बिष्ट ‘आनन्द’ कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभामा प्रतिस्पर्धी हुन् । माओवादी सशस्त्र संघर्षबाट खारिएर आएका नेता हुन्, भट्ट । जो, २०७९ अघि नेकपा बिभाजन हुनु अघि माओवादी केन्द्रमा थिए । बिभाजनपछि माओवादीमा फर्किएनन् । एमालेमै रहे । जेनजी आन्दोलनपछि भएको नेकपा एमालेको महाधिवेशनबाट उपमहासचिवमा सर्वाधिक मत ल्याएर बिजयी भए ।
चार पटक चुनाव लडेका भट्टको यो पाँचौ निर्वाचन हो । उनी दुई पटक पराजित भए । दुई पटक निर्वाचित । मुलुक शान्ति प्रकृयामा गएपछि तीन पटक मन्त्री भए ।
भट्ट नेकपा एमालेका तर्फबाट चुनावी अभियानमा छन् । उनी सुदूरपश्चिमबाट एमालेको पदाधिकारीमा निर्वाचित हुने एक्लो नेता हुन् । अर्थात उनी सुदूरपश्चिमको सबैभन्दा सिनियर नेता हुन् ।
भट्टलाई चुनौती दिदैछन्, नेपाली काँग्रेसका उम्मेदवार बिष्ट । बिष्ट र भट्टका बीचमा धेरै कुरामा असमानता छ । भट्ट बामपन्थी हुन् । बिष्ट लोकतान्त्रिक बिचारका अनुयायी । नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय बिष्ट हाल नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । प्रवासमा नेपाली काँग्रेसको संगठन विस्तारमा बिष्टको महत्वपूर्ण योगदान छ ।
भट्ट पाँचौ पटक चुनाव लड्दैछन् । बिष्ट पहिलो पटक । एबीएसम्मको अध्ययन गरेका बिष्ट अहिलेसम्म लाभको पदमा बसेका छैनन् । त्यस कारण उनको परीक्षण हुन बाँकी छ । यी सबै भिन्नताका बीच दुई जनाबीच एउटा कुरा भने समान छ । दुबैको पुख्र्यौली घर डोटी हो । त्यसमाथि गडसेरा । त्यतिमात्र होईन, दुबै जोरायलकै ५ नम्बर वडाका बासिन्दा हुन् ।
राजनीतिको उर्वर भूमि मानिने गडसेराबाटै नेपाली राजनीतिमा उदाएका थिए, सिद्धराज ओझा, टेक बहादुर चोखाल । अरु पनि थुप्रै जिल्लास्तरका नेता जन्माउने भूमि हो, गडसेरा ।
मन्त्रीहरु जन्माउने त्यही गडसेराका भट्ट र बिष्टबीच कैलाली क्षेत्र नम्बर ४ मा रोचक प्रतिस्पर्धा भईरहेको छ ।
भट्ट क्षेत्र नम्बर ४ का स्थायी बासिन्दा हुन् । बिष्टको परिवारको क्षेत्र नम्बर ४ मा बसोबास छ । यहाँ उनका आफन्त, नातागोता र ईष्टमित्र पनि छन् । माओवादी, एमाले जुनसुकै पार्टीबाट उम्मेदवार हुदै आएपछि भट्टले यसअघिका निर्वाचनमा गडसेरी र डोट्यालहरुको मत पाउदै आएका छन् । यसपटक डोट्यालहरुको त्यो मत दुबैजनालाई बाडिनेछ । काँग्रेसभित्रको गुटगत कलह र डोट्याल सेन्टिमेटले भट्टलाई सहज हुदै आएपनि एमालेभित्रको लामो कलह उनका लागि सधै सकसपूर्ण हुदै आएको छ । बिगतमा भीम रावल पक्षधरहरुले उनलाई असहयोग गरेको आरोप लाग्थ्यो । भनिन्छ, रावल पक्षरहरु अझै पनि उनीसंग सकारात्मक छैनन् । त्यसमाथि एमालेका अर्का नेता दामोदर भण्डारी पक्षधहरुसंग उनको सम्बन्ध तिक्ततापूर्ण छ ।
भट्टलाई चुनावमा रोक्न सके केन्द्रमा हाईसञ्चो हुने र मन्त्री बन्न सहज हुने भण्डारीको मनोबिज्ञानले भट्टलाई असर गर्ने गरेको छ । त्यसमाथि भट्टलाई उनकै पूर्व सहयोद्धा हरी चौधरी उत्सवको उम्मेदवारीले चुनौती थपेको छ । चौधरीलाई भट्टको पकड क्षेत्र पनि थाह छ र कमजोरी पनि । बिगतका निर्वाचनमा तिनै चौधरी भट्टको मुख्य सहयोगीको भूमिका थिए । र, चुनावको मुखमा भट्टको साथ छोडेका छन्, उनकै सहोदर भाई गोकर्ण भट्टले । उनलाई त्यसले पनि झट्का दिएको छ । यद्दपि एमालेनेता भण्डारीसंग भाई गोकर्णको तिक्ततापूर्ण सम्बन्धले उनलाई चुनावमा असर गर्ने गरेको थियो । भाई नै आफूसंग नरहेकोले उनलाई भण्डारी पक्षधरहरुलाई कन्भिन्स गर्न भने केही सहज हुने देखिन्छ ।
उता बिष्टलाई भने काँग्रेसभित्रका थुप्रै गुट र असन्तुष्टहरुलाई मिलाउन सकस भईरहेको छ । यसअघि नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति बीर बहादुर बलायरले यो क्षेत्रमा भट्टलाई पराजित गरेका थिए । त्यसैले यसलाई काँग्रेसको बलियो क्षेत्रका रुपमा हेरिन्छ । आफ्नो निर्वाचनक्षेत्रमा पर्याप्त समय र बजेट दिन नसकेका कारण एकातिर बलायरप्रतिको मतदाताको असन्तुष्टि । अर्कोतिर बलायरको काँग्रेस प्रतिको असन्तुष्टि छ । यी दुईटै असन्तुष्टिलाई बिष्टले कसरी व्यवस्थापन गर्छन्, त्यसले पनि उनको हार–जीत निर्धारण हुनेछ ।
कैलाली क्षेत्र नम्बर ४ मा एमालेका भट्ट, काँग्रेसका बिष्ट र नेकपाका चौधरीबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । संगठन बिस्तारकै क्रममा रहेको रास्वपाले मनोनयन अघि हरी रेग्मीलाई दिएको टिकट रद्द गर्दै अचानक खेमराज कोईरालालाई आधिकारिक उम्मेदवार घोषणा गर्यो । धनगढीका रेग्मीलाई टिकट दिएकोमा स्थानीय कार्यकर्ताहरु शुरुदेखि नै बिरोधमा थिए । त्यसमाथि हठात कोईरालालाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि पार्टीभित्र खैलाबेला भएको छ । यसले रास्वपालाई भने प्रतिस्पर्धामै आउन पनि कठिन हुने देखिन्छ ।
२०६४ मा भट्टले यही क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार दीर्घराज भाटलाई पराजित गरे । २०७० मा भट्टलाई हराएर भाटले बदला लिए । २०७४ मा भट्टले काँग्रेसका सुनिल भण्डारीलाई पराजित गरे । २०७९ मा भने उनी काँग्रेसका बीर बहादुर बलायरसंग पराजित भए । उनी बलायरसंग ३,४३८ मतको अन्तरले पराजित भएका थिए । बलायरले २६,१७१ मत पाउदा भट्टले २२,५३३ मत पाए ।
यसपटक नयाँ मतदाता पनि थपिएका छन् । र, उम्मेदवारहरु पनि उनी बाहेक अधिकांश नयाँ छन् । अहिले नै कसले बाजी मार्छ भन्न कठिन छ ।
