साँउदको दुखेको मुटुमा बोहराको मल्हम (चुनावी चर्चा अछाम-१)
अछाम, ८ माघ ।
२०७४ मा अछाममा माओवादी नेता दीपक साँउद प्रदेश सभाको टिकटका आकांक्षी थिए । टिकट उछिने, भर्खरै माओवादी प्रवेश गरेका व्यापारिक पृष्ठभूमिका झपट बोहराले । साँउद हेरेको हे¥यै । चुनाव हुदै गर्दा साँउद अछाममा बस्न सकेनन् । टिकट खोसिएपछि रन्थनिएका उनी धनगढी झरे ।
उनले उपचारका लागि झरेको बहाना गरे । खासमा टिकट खोसिएपछि उनको मुटु दुखेको थियो ।
बोहराले चुनाव जिते । झण्डै पहिलो मुख्यमन्त्री भएका । पार्टीभित्रै नवप्रवेशीलाई मुख्य मन्त्री बनाउन लागेको भन्दै बिरोध भयो । बोहरा अर्थमन्त्री भए, र सुदूरपश्चिम सरकारको पहिलो बजेट बनाउने अवसर प्राप्त गरे । बोहरा र साँउदबीचको मिठासपूर्ण पुरानो सम्बन्धमा चिसोपन आयो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच सहमतीपछि नयाँ पार्टी बन्यो, नेकपा । साँउद र बोहरा फेरि एउटै पार्टीमा जोडिए । एकता भंगभएपछि साँउद पुरानै पार्टी माओवादीमा फर्किए । बोहराले ओली नेतृत्वको एमाले रोजे ।
२०७९ मा साँउद माओवादीबाट प्रदेश सभाको टिकटको आकांक्षी थिए । टिकट पाए, झपट साँउदले । उनी फेरि टिकटबाट बञ्चित भए ।
उता ओलीसंगको टकरावमा अछाम क्षेत्र नम्बर १ मा भीम रावलले टिकट गुमाउदा त्यसको फाईदा भने बोहरालाई भयो । २०७९ बोहराले एमालेबाट प्रतिनिधि सभाको टिकट पाए । दोस्रो पटक चुनाव लड्दा उनी नयाँ पार्टीमा थिए । हुन् पनि उनी जसको संगतमा थिए, दुई पटक तिनै नेताहरु टिकटबाट बञ्चित भए । उनले टिकट पाए ।
समयभन्दा पहिले जेनजी आन्दोलनले बिघट्न हुन पुगेको प्रतिनिधि सभामा बोहरा अछामबाट पुनः निर्विकल्प उम्मेदवार बने । टिकट बोहराले पाए । एकै पार्टीबाट दोहोरिएर टिकट पाएको यो पहिलो पटक थियो ।
मनोनयन दर्ता गर्नुभन्दा अघि बोहराले आफूले पाएको टिकट साँउदलाई दिए । जवकी साँउद एमालेमै थिएनन् । माओवादी पार्टी छोडेर जनार्दन शर्माको संगतले प्रगतीशील लोकतान्त्रिक पार्टीमा लागेका साँउदलाई बोहराले एमाले मात्र बनाएनन्, चुनावकै मुखमा आफूले पाएको टिकट सुम्पिए ।
भनिन्छ, बोहरा २०७९ मै चुनाव लड्न ईच्छुक थिएनन् । ओलीले उनैलाई चुनाव लड्न निर्देशन दिए । ओलीको आदेश उनले नकार्न सकेनन् । एमालेमै रहेका भीम रावलको साथ नपाएका कारण चुनाव हार्नुपरेको उनले गुनासो गर्दै आएका छन् । यतिबेला अछाम १ मा नेकपाको तारा चुनाव चिन्हमा रावल उम्मेदवार छन् । साँउदले टिकट छोड्नु २०७९ को हारको बद्ला लिन नेपथ्यबाट रावललाई हराउने अभिप्राय पनि हुन सक्छ । तर त्योभन्दा पनि २०७४ मा आफूले दुखाएको साँउदको मुटुमा मल्हम लगाउन बोहराले यो उदारता देखाएको ठान्नेहरु पनि छन् ।
साँउद र बोहराहरुको जातीय भोट तान्नका लागि बोहराले अपनाएको रणनीति पनि हुन सक्ने कतिपयको आंकलन छ ।
२०७० मा एमालेका तर्फबाट अछाम १ प्रतिनिधि सभाको उम्मेदवार थिए, भीम रावल । रावलको चुनाव चिन्ह थियो, सूर्य । रावलको प्रतिस्पर्धी थिए, दीपक साँउद । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका साँउदको चुनाव चिन्ह थियो, हसिया हथौडा । रावल बिजयी भए । साँउद पराजित ।
१२ वर्षपछि खोलो फर्किन्छ भन्ने नेपाली उखान साँउदको राजनैतिक जीवनमा लागु भयो । १२ वर्ष दुबै जना एकै क्षेत्रबाट चुनावी मैदानमा छन् । रावलको नेता पुष्पकमल दाहाल छन् । र, उनको चुनाह चिन्ह तारा । सूर्य चुनाव लिएर चुनावी मैदानमा उत्रिएका साँउदका सर्वोच्च नेता केपी शर्मा ओली हुन् । जो १२ वर्षअघि रावलका नेता थिए ।
