कञ्चनपुरमा दलहरुले लगाए उम्मेदवारको टुङ्गो, मनोनयन पत्र दर्ताको तयारी
कञ्चनपुर- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारहरुको टुङ्गो लगाएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेससहितका दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाएका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा एमालेबाट तारालामा तामाङ उम्मेदवार बनेका छन् । नेता तामाङ विसं २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि निर्वाचित भएका थिए। तर जेनजी आन्दोलनका कारण संसद विगठन भएपछि आगामी फागुन २१ मा हुने निर्वाचनमा तामाङ पुनः उम्मेदवार बनेका हुन् । यस अघि २०७९ सालमा पाँच हजार ५४६ मतान्तरले विना मगरलाई पराजित तामाङ विजयी भएका थिए ।
यस पटक पनि क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट विबा मगर उम्मेदवार बनेका छन् । मगर यस अघि विसं २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १९ हजार २४८ मतान्तरले नेपाली कांग्रे्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गर्दे विजयी भएका थिए । तर विसं २०७९ सालमा भएको निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तामाङसँग मगर पराजित भएका हुन् । तामाङले २२ हजार ५३५ मत प्राप्त गर्दा मगरले १७ हजार ५७ मत पाएका थिए ।
यसैगरी, नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट गोपी प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भीमराज भट्टका अनुसार, तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टङ्गो लगाइएको हो । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा दिल्ली शाही उम्मेदवार बनेका छन् । शाही पार्टीका क्षेत्रीय संयोजक छन् भने स्थानीय तह जिल्ला परिचालन समितिका जिल्ला संयोजक पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्र्टीबाट क्षेत्र नम्बर १ मा जनक सिंह धामी उम्मेदवार बनेका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलाई उम्मेदवार बनाएको छ । यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट साउँदले नेकपा एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ को मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर २ मा माधव पन्तलाई उम्मेदवार बनाएको छ । यस अघि नेता लालबहादुर खड्कालाई उम्मेदवार बनाउने चर्चा चुलिए पनि पन्तलाई उम्मेदवार बनाइएको हो । यसैगरी, नेकपा एमालेबाट क्षेत्र नम्बर–२ का लागि बचन बहादुर सिंह उम्मेदवार बनेका छन् । सिंह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर २ मा दिपक बोहरा उम्मेदवार बनेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टीका केन्द्रीय सदस्य तीर्थराज चटौत उम्मेदवार बनेका छन् । युवा व्यवसायी चटौत सामाजिक कार्यसँगै राजनीतिमा सक्रिय छन् ।
निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट डा। दीपकप्रकाश भट्ट उम्मेदवार बनेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका डा। भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएका भएका थिए । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई दुई सय ५८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका थिए ।
निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार उम्मेदवार बनेका छन् । यसैगरी, नेपाली कांग्रेसबाट पूर्व गृहमन्त्री रमेश लेखक उम्मेदवार बनेका छन् । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लेखक नेकपा एमालेका उम्मेदार डा. भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । लेखक २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने एमालेका निरुदेवीपाललाई १२ हजार ३० को मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
यसैगरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केन्द्रीय सह प्रवक्ता पूर्णबहादुर चन्द उम्मेदवार बनेका छन् । चन्द पूर्व जिल्ला अध्यक्ष समेत छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता उम्मेदवार बनेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार, मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारहरुको मनोनयनपत्र दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताका लागि दलका नेताहरुले तयारी थालेका छन् ।
