सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय
बैतडी- सरकारले सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिमा बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । यस्तै ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।
बैतडीको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । प्रशासन स्थापनाले तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतालगायत अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
तल्लोस्वराड क्षेत्रमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका पर्छन् । यो क्षेत्रबाट सदरमुकाम जान २ हजार ५ सय रुपैयाँ भाडा तिर्नु पर्छ । सरकारले जनशक्ति व्यवस्थापन गरेर चाँडो कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयनमा लैजानु पर्ने शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
योसँगै बैतडीमा दुई इलाका प्रशासन कार्यालय हुने छन् । यसअघि पुर्चौंडी नगरपालिकाको हाटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेको छ ।
