प्रिमयर इन्टरनेसनलमा विद्यार्थी–केन्द्रित बहुआयामिक सिकाइ कार्यक्रम सम्पन्न

द एभरेष्ट पोष्ट
८ पुष २०८२ १६:५९
प्रिमयर इन्टरनेसनलमा विद्यार्थी–केन्द्रित बहुआयामिक सिकाइ कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रिमयर इन्टरनेसनल अन्तर्राष्ट्रिय पाठ्यक्रम निरन्तरता विद्यालयले विद्यार्थी–केन्द्रित सिकाइलाई प्रवर्द्धन गर्दै सृजनशीलता, नेतृत्व, उद्यमशीलता, खेलभावना र समुदाय सेवासँग सम्बन्धित बहुआयामिक कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको विद्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय बकालोरियट शिक्षण दर्शनअनुसार आयोजना गरिएका कार्यक्रमहरूले ‘सिकाइलाई सिर्जना र समुदायसँग जोड्ने’ अवधारणालाई आत्मसात् गरेका छन्।

कार्यक्रमअन्तर्गत प्रारम्भिक र माध्यमिक तहका विद्यार्थीहरूको दृश्य कला प्रदर्शनी ‘एक्सप्रेसन्स–२०२५’ आयोजना गरिएको थियो। प्रारम्भिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले तयार पारेका चित्रकला, मूर्तिकला, इन्स्टलेसन तथा मिश्रित माध्यमका कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। कलाकृतिहरूले दैनिक जीवनका विषय, सामाजिक सवाल तथा दिगो विकासका लक्ष्यसम्बन्धी सन्देश बोकेका थिए।

यसैगरी विद्यार्थी बजार कार्यक्रममार्फत सिकाइलाई व्यवहारिक अनुभवमा रूपान्तरण गरिएको थियो। साना कक्षाका विद्यार्थीहरूले पुनःप्रयोग सामग्रीबाट तयार गरिएका वस्तुहरू प्रस्तुत गरे भने माथिल्ला कक्षाका विद्यार्थीहरूले मूल्य निर्धारण, बजार व्यवस्थापन तथा नाफा–नोक्सानको अभ्यास गरे। कक्षा तीनका विद्यार्थीहरूले कार्यक्रमको सम्पूर्ण योजना र व्यवस्थापन आफैं सम्हाल्दै नेतृत्व र सहकार्यको उदाहरण प्रस्तुत गरेका थिए।

कार्यक्रमकै क्रममा वार्षिक खेलकुद महोत्सव–२०८२ पनि सम्पन्न भएको छ। पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सहभागितामा विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिएको थियो। एथलेटिक्स, फुटसल, बास्केटबललगायत खेलले खेलभावना, अनुशासन र समूहगत कार्य संस्कृतिको विकासमा सहयोग पुगेको विद्यालयको भनाइ छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न परियोजनामार्फत संकलित रकम सामाजिक सेवाका लागि सहयोग गरेका छन्।

विद्यालयका अनुसार कला, उद्यम, खेल र सेवालाई एकैसाथ जोडेर आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, उद्देश्यपूर्ण र समाजप्रति संवेदनशील नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस