सुदूरपश्चिममा एकैदिनमा २७० जनाद्वारा रक्तदान
धनगढी, ७ पुस ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले सोमवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २७० जनाले रक्तदान गरेका छन्।
सुदुरपश्चिम प्रदेशमै एकै दिन २७० जनाले रक्तदान गरेको यो पहिलो पटक हो । प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख धरणी पन्तले ४८ जना महिला र २२२ जना पुरुषले रक्तदान गरेको बताउदै आयोजक लगायत सम्पुर्ण सहयोगी र रक्तदाता धन्यवादको पात्र रहेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीको आह्वानमा आयोजित रक्तदान कार्यक्रममा धनगढीका विभिन्न कलेज, ईन्स्टिच्युटमा अध्ययनरत विद्यार्थी, पेशाकर्मी र विभिन्न अस्पतालमा अस्पतालमा कार्यरत कर्मचारी र र सर्वसाधारण स्वतस्र्फूत रुपमा रक्तदान कार्यक्रममा सहभागी भएका थिए । जसमध्ये २०० जनाले पहिलो पटक रक्तदान गरेका थिए । अन्य ७० जनाले भने यसअघि पनि रक्तदान गरिसकेका छन् ।
वडा अध्यक्ष शाहीले धनगढीमा रगतको अभाव देखिएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
रक्तदान कार्यक्रममा भएको युवाहरुको अभूतपूर्व सहभागिताबाट हामी निकै उत्साही भएका छौ । करीव डेढ हप्ताको तयारीमा यति धेरै मात्रामा रगत संकलन गर्न सक्यौ । अध्यक्ष शाहीले भने, मानव जीवनको रक्षाका लागि रक्तदानको महत्व बुझाउन हामी सफल भयौ ।
रक्तदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत दीपक उपाध्यायले मानिसमा रगत दिनु हुदैन, दिएमा कमजोर भइन्छ भन्ने लगायतका भ्रम रहेको बताउदै यो ऐतिहासिक बृहत रक्तदानले ति सबै भ्रम चिर्न सफल भएको बताए ।
सुदुरपश्चिममा सबैभन्दा धेरै पिन्ट रगत संकलन र पहिलो रगत दिने रक्तदाताको रेकर्ड समेत यो कार्यक्रमले तोडेको बताउदै सद्भावना दूत उपाध्यायले आज मात्रै झण्डै २ सय जनाले पहिलोपटक रक्तदान गरेको बताए ।
रक्तदान कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, खप्तड कलेज, सहारा होटेल म्यानेजमेन्ट, साई मा इन्स्टिच्युट लगायतका संस्थामा अध्ययनरत विद्यार्थी, कर्मचारी र बटुवाहरुले रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
वडा अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा सामाजिक बिकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिईन् । रक्तदान कार्यक्रममा निसर्ग अस्पताल, नेपाल रेडक्रस सोसाइटी नम्बर ५ उपशाखा, एजी हेल्थ ईण्डष्ट्रिज प्रा.लि लगायत बिभिन्न संघ संस्थाको सहयोग रहेको थियो ।
आज सुदूरपश्चिम प्रदेशमै पहिलो पटक एकैचोटि २७० पिन्ट रगत संकलन भएको छ । यो केवल एउटा आँकडा मात्र होइन, जीवन बचाउने आशा र विश्वासको बलियो संकेत हो । यस उल्लेखनीय रक्तदान कार्यक्रममा ४६ जना महिला रक्तदाताहरूको सक्रिय सहभागिता रहनु झनै प्रेरणादायी पक्ष हो, नेपाल रेडक्रस सोसाईटी कैलालीमा कार्यरत नरेन्द्र भट्ट सामाजिक सञ्जालमा लेख्छन्, अझ गर्वको कुरा त के छ भने, करिब ९५ प्रतिशत रक्तदाता १८–२५ वर्ष उमेर समूहका नयाँ रक्तदाता हुनुहुन्छ।




