रविको चेतावनी – जनविद्रोहलाई नजिस्क्याउनु, संसद् ब्युँताउने दुस्साहस नगर्नु
काठमाडौं । न्यायिक आदेशबाट थुनामुक्त भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले तीव्र राजनीतिक अभियान सुरु गरेका छन् । पक्राउ परेको आठ महिनापछि शुक्रबार भैरहवाबाट रिहा भएका उनी शनिबार चितवन र काठमाडौंका राजनीतिक गतिविधिमा सक्रिय बने । पार्टीको मूल नेतृत्वको कमान्ड पुन: सम्हाल्दै उनले संगठनलाई प्रत्यक्ष नेतृत्व गर्दै छन् ।
शुक्रबार रिहा भएलगत्तै चितवन पुगेका उनले शनिबार कार्यकर्तासहितको ठुलो जनसमूहलाई सम्बोधन गरे । त्यसपछि काठमाडौं फर्केर उनले जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँग छुट्टाछुट्टै भेटवार्ता गरे । चितवन र काठमाडौंमा भएका बेग्लाबेग्लै सम्बोधनमा लामिछानेले सहिदको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।
चितवनमा कार्यकर्ता र जनसमूहलाई सम्बोधन गर्दै लामिछानेले सरकार, नयाँ दलहरूसँगको एकता र जेन–जी आन्दोलनबारे बोलेका थिए । लामिछानेले आगामी चुनाव नेपालको भविष्यका लागि महत्वपूर्ण रहेको बताए । ‘तपाईं–हाम्रो भविष्यका लागि अत्यन्तै महत्वपूर्ण चुनाव हो । समयमा चिर्वाचन गर्न सरकारलाई हाम्रो साथ छ । मैले प्रधानमन्त्रीको अनुहार अँध्यारो देखिरहेको छु । अनुहारमा हाँसो ल्याउनुस् प्रधानमन्त्रीज्यू,’ उनले भने ।
लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई सुशासनको डन्डा चलाउन र निर्वाचनका लागि प्रतिबद्ध रहन अनुरोध गरेका छन् । ‘प्रधानमन्त्रीज्यू, तपाईं सुशासनको डन्डा चलाउनुस्, रास्वपा तपाईंको साथमा छ । तपाईं न्यायको मूर्ति हो, धेरैलाई अदालतबाट न्याय दिनुभएको छ,’ उनले भने, ‘अब देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ । रत्तिभर खुट्टा नकमाउनुस् । एक बारको जुनी हो, धेरै भए नक्खु जेलमा जाने त हो, के चिन्ता गर्नुहुन्छ ।’
नयाँ दलहरू मिल्नुपर्ने सर्वसाधारणको सुझावबारे सम्बोधन गर्दै उनले चुनावकेन्द्रित एकता भने गर्न नसकिने स्पष्ट पारे । ‘मिल्नुपर्नेहरू जो–जो हो, हामी मिलेरै छाड्छौँ, चिन्ता नगर्नुहोस् । सबै साथीहरू संवादमा हुनुहुन्छ, देश बन्नुपर्यो,’ उनले भने, ‘तर, मिल्ने भनेको टाउको ठोकेर मित लगाएजस्तो होइन । एउटा चुनावका लागि मिल्ने होइन । सिंगो पुस्ताको भविष्यका लागि मिलिरहने हो भने मिलौँ । यसका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । एउटा चुनावका लागि हो भने–आई एम सरी ।’
काठमाडौंमा सहिद परिवारसँगको भेटमा पनि लामिछानेले यी विषय उठाएका थिए । ‘तपाईंहरूले पनि नयाँ साथीहरू मिल्नुपर्छ भन्नुभएको छ । हामी मिल्न तयार छौँ । तर, चुनावमा जाने विषय उठाएर, चुनावी मुद्दाका लागि होइन, तपाईंको परिवारलाई न्याय गर्नका लागि मिल्नेछौँ,’ लामिछानेले भने ।
रास्वपाले जेन–जी पुस्ताको साथ लिएर देश निर्माणको नेतृत्व गर्ने उनले बताए । ०८४ को निर्वाचनको तयारीमा जुट्दा जेन–जी पुस्ताले नयाँ अवसर प्रदान गरेको लामिछानेले बताए । ‘हामी चुनावको पर्खाइमा थियौँ । तर, जेन–जीले बिचमै सरकारलाई तागत देखाइदियो,’ उनले भने ।
देशको वर्तमान संरचना जलेको जस्तै भएको टिप्पणी गर्दै लामिछानेले राज्यले नागरिकका सपना खोसिरहेको आरोप लगाए । ‘सिंहदरबार बनाउँला, न्यायालय बनाउँला, तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ?’ उनले प्रश्न गर्दै भने, ‘हामी बनाउँछौँ । जेन–जीको साथ बोकेर अब देश बनाउने काममा लाग्छौँ ।’
प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि मन्त्री नबन्ने प्रश्न उठेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध सधैँ उभिने प्रतिबद्धता व्यक्त गरे । ‘सांसद भए पनि मन्त्री बन्न पाउने–नपाउने महत्वपूर्ण छैन । मान्छे भएर बाँच्दा पनि म भ्रष्टाचारीविरुद्ध सधैँ उभिनेछु,’ उनले भने ।
