एमाले पार्टी नेतृत्वमा केपी शर्मा ओली को ‘ह्याट्रिक’
एमालेमा ओली वर्चस्व पुन: स्थापित
काठमाडौँ — केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । काठमाडौंमा भएको ११ औं महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनी यसअघि २०७१ को नवौं महाधिवेशन र २०७८ को दसौं महाधिवेशनबाट पनि उनी अध्यक्ष निर्वाचित भएका थिए ।
जेन–जी आन्दोलनपछि पुराना दलमा नेतृत्व हस्तान्तरणको दबाब परिरहेका बेला एमाले महाधिवेशनले भने ओलीको नेतृत्वलाई तेस्रो कार्यकालका लागि पनि अनुमोदन गरेको हो । पार्टीमा आन्तरिक लोकतन्त्र, विधि, पद्धतिको मुद्दा लिएर प्रतिस्पर्धामा उत्रिएका ईश्वर पोखरेल पक्षले पदाधिकारी र केन्द्रीय कमिटीमा ठूलो जित हासिल गर्न नसके पनि पार्टी जीवनको लोकतान्त्रिक अभ्यासलाई ब्युँताएको छ ।
एमाले पदाधिकारीमा ओली प्यानलकै वर्चस्व देखिएको छ । पोखरेल पक्षका दुई पदाधिकारी मात्र विजय भएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन् । केन्द्रीय कमिटीमा संस्थापन पक्ष करिब ७० प्रतिशत भएकाले ओली ‘कम्फर्टेबल’ अवस्थामा छन् । केन्द्रीय कमिटी (३०१) मा पोखरेल प्यानलबाट खुला केन्द्रीय सदस्यमा एक दर्जन केन्द्रीय सदस्य मात्र निर्वाचित भएका छन् ।
अध्यक्षमा ओलीले १ हजार ६ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत ल्याए । महासचिवमा शंकर पोखरेल दोहोरिएका छन् । अध्यक्ष ओलीले आफ्नै पक्षका नेताहरूको दबाबबीच महासचिवमा पोखरेललाई जिताउन ठूलो कसरत गर्नुपर्यो । अध्यक्ष ओलीले पोखरेललाई जिताउन प्रतिनिधिहरूलाई आन्तरिक निर्देशन दिएका थिए । शंकर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गरे । पोखरेलले (१२२८) र पाण्डेले (९९९) मत ल्याए । पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए ।
यो प्रतिस्पर्धाले पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्ने बाटो फराकिलो बनाएको पाण्डेले बताए । ‘एमालेभित्र प्रतिस्पर्धामा अवरोध हुँदै आएको थियो । यो महाधिवेशनबाट प्रतिस्पर्धाको बाटो सम्भव र फराकिलो बनाउन सकेका छौं,’ उनले भने, ‘यो विषम परिस्थितिमा महाधिवेशन र स्वतन्त्र प्रतिस्पर्धा गर्ने अवस्थामाथि आशंका भए पनि सम्भव भयो ।’
पाँच उपाध्यक्षतर्फ ओली पक्षका पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा (१५१६) र रघुजी पन्त (१२५८) विजयी भए । पोखरेल पक्षका गोकर्ण विष्ट (१३६८) पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । पन्तलाई दुवै पक्षले उम्मेदवारको सूचीमा राखेका थिए । पराजित हुने उपाध्यक्ष उम्मेदवारहरूमा गुरुप्रसाद बराल (११३७), बिन्दा पाण्डे (९२१), परशुराम मेघी गुरुङ (४६१), अरुण नेपाल (४३९), टंकप्रसाद कार्की (३५८) र भीमप्रसाद आचार्य (२६५) छन् ।
एमालेमा नेतृत्व हस्तान्तरण मुद्दा उठाएका पोखरेल पक्षका योगेश भट्टराई उपमहासचिवमा विजयी भए । ओली पक्षका दुई उम्मेदवारले उपमहासचिव जिते । प्रतिनिधिहरूले पूर्वमाओवादी धारलाई जिताएका छन् । उपमहासचिवमा लेखराज भट्ट (१४५२), रघुवीर महासेठ (१३६८) र भट्टराई (१३४८) विजयी भएका हुन् । ओलीनिकट नेता विष्णु रिमालले उपमहासचिव (१०९१) र केन्द्रीय सदस्य दुवैमा हार बेहोर्नुपर्यो । उपमहासचिवमा पोखरेल पक्षका आनन्दप्रसाद पोख्रेल (६३५) र वैजनाथ चौधरी (५१७) पनि पराजित भएका छन् । उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिए पनि राजेन्द्र गौतमले २७० मत ल्याए ।
९ सचिवका लागि भएको निर्वाचनमा सबभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । यसअघि पोलिटब्युरो सदस्य रहेका बस्नेत १ हजार ५ सय ४४ मत ल्याई सचिवमा विजयी भए । यस्तै पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३ ), कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१) र कर्णालीका मुख्यमन्त्रीसमेत रहेका यमलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) सचिवमा विजयी भएका छन् । पराजित हुनेहरूमा गोकुलप्रसाद बाँस्कोटा (१०३०), ठाकुरप्रसाद गैरे (८८३), रचना खड्का (८७७), कर्ण थापा (८४७), अग्नि खरेल (७१६), विनोदप्रसाद ढकाल (६८४), कृष्णगोपाल श्रेष्ठ (६२५), लालबाबु पण्डित (४९६), पेम्बा लामा (४९३), पुरुषोत्तम पौडेल (४६२) र इन्द्रलाल सापकोटा (४०५) छन् ।
पदाधिकारीमा एक जना मात्र महिला पद्माकुमारी अर्याल सचिवमा विजयी भएकी छन् । खुला ७२ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले सबभन्दा धेरै मत ल्याएका छन् । महासचिवका आकांक्षी भए पनि उनलाई ओली पक्षले उपाध्यक्षमा उठाउने प्रस्ताव गरेको थियो । त्यसमा असन्तुष्टि ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता नगरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्यमा उनले १ हजार ९ सय ४२ मत ल्याएका छन् । महाधिवेशनमा २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए ।
