जेन-जी आन्दोलनका घाइतेको उपचारमा सरकारको बेवास्ता

द एभरेष्ट पोष्ट
२ पुष २०८२ ७:१६
जेन-जी आन्दोलनका घाइतेको उपचारमा सरकारको बेवास्ता

काठमाडौँ — दैलेख, भगवती गाउँपालिका–१ का दीपेन्द्र बस्नेत दम्पती ४ वर्षीय छोरालाई मिर्गौलाको समस्या भएपछि उपचारका लागि काठमाडौं आएका थिए । बसाइ बसुन्धरामा थियो । दीपेन्द्र गुजाराका लागि इलेक्ट्रिसियनको काम गर्थे । छोराको उपचार खर्च १२ लाख नाघेपछि उनी ऋण तिर्न विदेश जाने तयारीमा थिए । २३ भदौमा जेन–जी आन्दोलन हुँदा उनी पनि सहभागी भए ।

संसद् भवनअघि दीपेन्द्रको टाउकामा गोली लाग्यो । त्यतिबेला ब्यारिकेडमा उनको शरीर झुन्डिएको हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल समयमै पुर्‍याइएका कारण दीपेन्द्रले पुनर्जीवन पाए । तर टाउकामा गोली लागेकाले उनको बायाँ आँखाको ज्योति गुम्यो, शरीरको बायाँ भाग पनि नचल्ने भयो । दुई महिनाभन्दा बढी समय उपचार गराएर गत ३० कात्तिकमा दीपेन्द्रलाई अस्पतालले डिस्चार्ज दियो ।

त्यसअघि न्युरोका डाक्टरले अर्को आँखामा पनि समस्या नआओस् भनेर थप उपचारका लागि आँखा अस्पताल जान सुझाएका थिए । गत मंगलबार श्रीमती संगीता खड्का बस्नेतले दीपेन्द्रलाई तिलगंगा आँखा अस्पताल लगिन् । सरकारले दिएको जेन–जी कार्डका आधारमा निःशुल्क उपचार पाइन्छ भन्ने आस उनलाई थियो । तर कार्ड देखाउँदा पनि अस्पतालले निःशुल्क गरेन । पहिलो दिन उनीहरूले करिब १२ सय रुपैयाँ खर्च गरे । दोस्रो दिन याचना गरेपछि आफ्नोतर्फबाट भन्दै एक पटकका लागि अस्पतालले निःशुल्क गरिदियो । ‘कार्डले त केही काम नगर्दो रहेछ । यो देखाए पनि निःशुल्क उपचार हुँदैन रे । मन्त्रालयबाट चिठी आउनुपर्छ रे,’ संगीताले बिहीबार भनिन् ।

दोस्रो दिन अस्पतालले आफ्नोतर्फबाट निःशुल्क उपचार भने पनि ६ हजार रुपैयाँको औषधि किन्नुपर्‍यो । यस विषयमा रिपोर्टिङ गर्ने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडललाई कान्तिपुरले दीपेन्द्रको समस्या सुनाएको थियो । लगत्तै पौडेलले तिलगंगामा फोन गरेर सहजीकरण गरेपछि भने बुधबार अस्पतालले दीपेन्द्रको उपचार निःशुल्क गर्‍यो । ‘नत्र त पूरै शुल्क लाग्छ भनिएको थियो,’ संगीताले भनिन् ।

डिस्चार्ज भएको दुई सातापछि फलोअपमा अन्नपूर्ण न्युरो जाँदा संगीताले औषधिको ६ सय रुपैयाँ तिर्नुपर्‍यो । उसो त न्युरोमा पछि फिर्ता आउँछ भन्दै उपचारका लागि ८० हजार रुपैयाँ तिर्न लगाइएको थियो । संगीतासँग यसको बिल पनि सुरक्षित छ । उपचारका क्रममा अहिलेसम्म आफ्नोतर्फबाट ३ लाखभन्दा बढी खर्च भइसकेको उनी बताउँछिन् ।

बसुन्धरास्थित थेरापी सेन्टरमा दीपेन्द्रलाई नियमित थेरापीमा लगिँदै छ । ‘त्यहाँ अहिलेसम्म त तिर्नुपरेको छैन । पछि के हुन्छ थाहा छैन,’ संगीता भन्छिन् । अर्कातिर नियमित डेराभाडा तिर्ने समस्या छँदै छ ।

२३ र २४ भदौका घटनामा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने सरकारको घोषणा छ । उनीहरूलाई सुविधाका लागि सरकारले जेन–जी कार्ड पनि प्रदान गरेको छ । जेन–जी र सरकारबीच गत बुधबार भएको १० बुँदे सम्झौतामा जेन–जी सहिदका परिवार तथा घाइतेका लागि सरकारले रोजगारी दिने, निःशुल्क उपचारको व्यवस्था उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस