कैलाली र कञ्चनपुरबाट खाद्यले किन्यो झन्डै १६ करोड मूल्य बराबरको धान
कैलाली- यो वर्ष कैलाली र कञ्चनपुरका किसानले खाद्यलाई मात्रै झन्डै १६ करोड मूल्य बराबरको उत्पादित धान बिक्री गरेका छन्।
दुई जिल्लाका किसानले ४५ हजार नौ सय ५४.७३ क्विन्टल उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई बिक्री गरेका हुन्।
कार्यालय प्रमुख दीपक थापाका अनुसार तीन सातामा दुई जिल्लाका किसानबाट १५ करोड ९१ लख ७८ हजार चार सय ५३ रुपैयाँको धान खरिद गरिएको हो।
राज्यले मोटा चामल तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम चामलको समर्थन मूल्य तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो।
सोही मूल्यमा यो वर्ष खाद्यले प्रथम चरणमा कैलालीमा ३५ हजार क्विन्टल र कञ्चनपुर जिल्लाका किसानबाट पाँच गरी कुल ४० हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो।
तर कार्यालय त्योभन्दा बढी झन्डै ६ हजार क्विन्टल बढी धान किसानबाट खरिद गरेको छ।
कार्यालय प्रमुख थापाका अनुसार खाद्यलाई धान बेच्न चाहने किसानको संख्या धेरै भएका कारण कोटाभन्दा बढी धान खरिद गर्नु परेको हो।
‘हामीले निर्धारण गरेको समयमा कुपन लिई बसेका तथा लाइनमा बसेका किसानको संख्या धेरै हुन पुग्यो,’ थापाले भने, ‘किसानको भावना अनुरूप कोटाभन्दा बढी धान हामीले खरिद गर्नु परेको हो।’
कैलालीमा प्रथम चरणमा ३५ हजार क्विन्टल धान खरिद कोटा आएकोमा बढाएर ३८ हजार नौ सय ४८ क्विन्टल र कञ्चनपुरमा पाँच हजार कोटा आएकोमा सात हजार ६ क्विन्टल धान खरिद गरिएको प्रमुख थापाले बताए।
गत वर्ष खाद्यको प्रादेशिक कार्यालयले ५५ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो भने यो वर्ष २० हजार क्विन्टल कम कोटा पाएको थियो।
गत वर्ष धान खरिद प्रक्रिया ढिला हुँदा चार महिनामा ३४ हजार पाँच सय १ क्विन्टल मात्रै खाद्यले किसानले उत्पादित धान खरिद गरिएको थियो।
कार्यालय प्रमुख दीपक थापाले यो वर्ष समयमै सरकारले समर्थन मूल्य तोकेको हुँदा सोही अनुरूपमाथि कै कोटा अनुसार कैलालीका ६ स्थान र कञ्चनपुरका दुई स्थानबाट धान खरिद गरिएको बताए।
खाद्यले किसानबाट कात्तिक ११ गतेदेखि धान खरिद सुरू गरेको थियो।
कार्यालयले कैलालीको मोहनापुर गोदामबाट पाँच हजार नौ सय ८४.८७ क्विन्टल, टीकापुर गोदामबाट नौ हजार आठ सय ७७.०९ क्विन्टल, भजनी खरिद केन्द्रबाट मंसिर दोस्रो सातापछि पाँच हजार सात सय ४२.०५ क्विन्टल, सती गोदामबाट सात हजार नौ सय सात क्विन्टल, सती गोदामबाटै मंसिर पहिलो साता पाँच सय २२.५१ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख थापाले जानकारी दिए।
त्यस्तै, जोशीपुर खरिद केन्द्रबाट चार हजार ६ सय क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट चार हजार तीन सय चार क्विन्टल मोटा धान खरिद गरिएको कार्यालय प्रमुख थापाले बताए।
कञ्चनपुरको महेन्द्रनगर खरिद केन्द्रबाट ६ हजार १९ क्वीन्टल र पुनर्वास खरिद केन्द्रबाट नौ सय ८७ क्विन्टल गरी सात हजार ६ क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख थापाले बताए।
त्यसअघि किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोपछि मुख्यमन्त्री शाहले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई अनुगमन गर्न तथा धान खरिद खुलाउन पहल गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्रीको निर्देशनपछि प्रमुख जिल्ला अधिकारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् धान खरिद प्रक्रिया अघि बढाएका थिए।
कात्तिक ४ गते मुख्यमन्त्री शाहले किसानले धानको समर्थन मूल्य पाए नपाएकोबारे अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।
त्यस्तै, किसानको माग अनुरूप सुदूरपश्चिमको भ्रमणमा आएका अर्थमन्त्री रामेश्वर खनाललाई सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा थप ५० हजार क्विन्टल धान खरिदका लागि कोटा बढाइ दिन आग्रह गरेका थिए।
अर्थमन्त्री खनालले किसानको मागबारे केन्द्रमा कुरा गरी सम्भव भएसम्मको पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक डम्मरबहादुर बमले जानकारी दिए।
त्यस अवसरमा मुख्यमन्त्री शाहले अर्थमन्त्री खनाललाई सुदूरपश्चिमका किसानले खेतीको समयमा रासायनिक मलका लागि ठूलो सास्ती र संघर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै मलको अभाव हुन नदिन तथा किसानको माग अनुसार आवश्यक परिमाणमा उपलब्ध गराउन पनि अनुरोध गरेका थिए।
कैलाली–कञ्चनपुर जिल्लामा वार्षिक दश लाख क्विन्टल धान उत्पादन हुने गरेको तथ्यांक छ। त्यसमध्ये किसानले करिब तीन लाख क्विन्टल उपभोग गर्ने गरेको तथा सात लाख क्विन्टल धान बिक्री गर्ने गरेको पाइएको छ।
खाद्यले राज्यले निर्धारण गरेको समर्थन मूल्यमा सीमित कोटामा मात्रै धान खरिद गर्ने हुँदा किसानले स्थानीय गल्ला व्यापारी र रासायनिक मिलहरूमा सस्तोमा उत्पादित धान बेच्न बाध्य हुनु परेको बताउँछन्।
