ओली–पोखरेल दुवै समूहलाई टिम निर्माणमा सकस
काठमाडौं १२ मंसिर । एमालेको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमने–सामने हुने निश्चित भए पनि दुवैतर्फ टिम निर्माणमा सकस हुने देखिएको छ । अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीका लागि ठुलो संख्यामा आकांक्षी देखिएपछि अध्यक्षमा तेहेरिन चाहेका ओली र उनलाई टक्कर दिने गरी आन्तरिक तयारीमा जुटेका पोखरेल दुवैलाई टिम निर्माणमा सकस हुने भएको हो । यद्यपि, दुवै पक्षले १३ मंसिरको प्रतिनिधि छनोट प्रक्रिया सकिएपछि मात्रै टिम निर्माणसम्बन्धी औपचारिक छलफल चलाउने तयारी गरेका छन् ।
महाधिवेशनका लागि तीन दिनदेखि देशैभर प्रतिनिधि छनोट प्रक्रिया चलिरहेका वेला एमालेको केन्द्रीय पदाधिकारीमा पहिलोपटक ‘डेब्यु’ गर्न र दोहोरिन–तेहेरिन चाहने आकांक्षी तीन दर्जनभन्दा बढी देखिएका छन् । अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी प्रस्तावित छ । केन्द्रीय समिति २५१ सदस्यीय छ ।
२७ देखि २९ मंसिरसम्म काठमाडौंमा आयोजना गरिने महाधिवेशनको भक्तपुरको सल्लाघारीमा उद्घाटन र भृकुटीमण्डपमा बन्दसत्र गर्ने एमाले निर्णय छ । महाधिवेशनको ‘काउन्ट डाउन’ नजिकिँदै जाँदा पदाधिकारीमै आकांक्षीको संख्या ५० हाराहारी पुग्न सक्ने एमाले नेताकै भनाइ छ । तर, दुवै पक्ष प्रतिनिधि छनोटका आधारमा आफ्नो शक्ति आकलन गरी टिम बनाउने योजनामा छन् ।
एमालेले १३ मंसिरमा प्रतिनिधि छनोट सकेर १५ मंसिरभित्र सबै विवरण पठाइसक्न सबै प्रदेश, जिल्ला, प्रवास र जनसंगठनहरूलाई निर्देश गरेको छ । पदेन र मनोनीतबाहेक ६ लाख ७० हजार सदस्यबाट कम्तीमा साढे १६ सय प्रतिनिधि भूगोलको निर्वाचन क्षेत्रसहित विभिन्न स्थानबाट निर्वाचित भएर आउनेछन् ।
१५ मंसिरभित्र केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको विवरण आइसकेपछि अध्यक्ष ओली स्वयंले सचिवालयमा पदाधिकारीका आकांक्षीबिच छलफल चलाउने वचन दिएका छन् । जसका कारण पनि उनीनिकट रहेका कोही पनि पदाधिकारीले सार्वजनिक रूपमा मुख खोलेका छैनन् । पोखरेलनिकट नेताहरू पनि महाधिवेशन प्रतिनिधि संख्या आकलन गरेर ओलीले नेतृत्व छनोटकेन्द्रित छलफल चलाएपछि मात्रै रणनीति बनाउने योजनामा छन् । त्यही बैठकमा ओलीनिकट नेताहरूको आकांक्षा प्रकट हुने र उनीहरूबिच प्रतिस्पर्धा र विवाद देखिन सक्ने बुझाइमा पोखरेल पक्ष छ ।
उपाध्यक्ष युवराज ज्ञवालीले अहिले अनौपचारिक तहमा छलफल चले पनि प्रतिनिधि छनोट सकिएपछि नै नेतृत्वबारे मूर्त रूपमा आन्तरिक छलफल अघि बढ्ने बताए । ‘महाधिवेशन नजिकिएकाले स्वाभाविक रूपमा आन्तरिक रूपमा कसले कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल त चलिरहेकै छ,’ ज्ञवालीले भने, ‘महाधिवेशन प्रतिनिधि छनोटपछि मूर्त रूपमै नेतृत्व छनोटका छलफलहरू पनि अगाडि बढ्छन् ।’
सचिव पद्मा अर्यालले अध्यक्ष ओलीले नेतृत्व छनोटबारे औपचारिक छलफल चलाइसकेपछि मात्रै पदाधिकारी तथा अन्य नेताहरूले पनि व्यक्तिगत चाहना बाहिर राख्ने बताइन् । ‘अध्यक्षले पछिल्लो बैठकको बसाइमा कसको के चाहना छ, अहिले समय कम भयो, फेरि बस्ने बैठकमा आन्तरिक छलफल गरौँला भनेर जानकारी गराउनभुएको छ,’ ओलीनिकट मानिने अर्यालले भनिन्, ‘प्रतिनिधि छनोटको १५ मंसिरमा सबै विवरण आएपछि एक दिन अध्यक्षसहित अलग्गै बसाइको छलफल हुन्छ, त्यसपछि नै व्यक्तिगत चाहना बाहिर राखिनेछ ।’
केन्द्रीय सचिवालय, स्थायी समितिदेखि केन्द्रीय कमिटीसम्म दुईतिहाइ बहुमतमा रहेका ओलीका लागि विधान महाधिवेशनबाट पारित सानो आकारको पदाधिकारीभित्र नेता व्यवस्थापन धेरै चुनौतीपूर्ण छ । सोही कारण पोखरेलले १३ मंंसिरमा महाधिवेशन प्रतिनिधि छनोट सकिएपछि पनि तत्काल पदाधिकारीको टिम निर्माण नगरिहाल्ने नीति लिएका छन् । प्रतिनिधि छनोटमा छिटफुट स्थानमा बाहेक अधिकांश स्थानमा चुनाव निश्चित देखिएकाले अध्यक्षका प्रत्याशी ओली र पोखरेलनिकट दुवैतिरका नेताहरूले अहिल्यैदेखि अधिक प्रतिनिधि ल्याउने योजनासहित जोडबल गरिरहेका छन् । । 
