कांग्रेस बैठक फेरि सर्‍यो

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ ७:३६
कांग्रेस बैठक फेरि सर्‍यो

काठमाडौं ११ मङ्सिर  ।  कांग्रेसमा महाधिवेशनको मितिबारे संस्थापन पक्ष र इतर पक्षबिच जारी विवाद टुंग्याउने प्रयास बुधबार नटुंगिएपछि बिहीबार बोलाइएको केन्द्रीय कार्य समिति बैठक शुक्रबारलाई सरेको छ । विशेष महाधिवेशन पक्षधर नेताले बुधबार विशेष सभा आयोजना गरेपछि महाधिवेशनका लागि नेतृत्व थप दबाबमा परेको छ ।

पुस महिनाभित्र विधानत: विशेष महाधिवेशन आयोजना गर्नुपर्ने दबाबबिच सभापति शेरबहादुर देउवासँगको समन्वयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । तर, विशेष महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभएपछि सहमति जुट्न सकेन ।

छलफलबारे जानकार स्रोतका अनुसार चर्को आन्तरिक दबाबका कारण पुसभित्रै नियमित महाधिवेशनको तालिका ल्याउन संस्थापन पक्ष तयार भए पनि विशेष महाधिवेशनका लागि भने तयार भएको छैन । महामन्त्रीद्वयले भने पुसभित्रै नियमित महाधिवेशन आयोजना गर्ने ग्यारेन्टी भएमा विशेष महाधिवेशनको निवेदन स्वत: निष्क्रिय हुने जवाफ दिएका छन् ।

कार्यवाहक सभापति खड्का र नेता लेखकले विशेष महाधिवेशनका लागि दर्ता भएको निवेदन फिर्ता लिन महामन्त्रीद्वयले सार्वजनिक अपिल गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । शुक्रबार केन्द्रीय समितिको बैठकअघि महाधिवेशनको कार्यतालिकामा सहमतिका लागि प्रयास गर्ने संस्थापन र इतर पक्षले जनाएका छन् ।

बुधबारको छलफलमा महामन्त्रीद्वयले पुसभित्रै नियमित महाधिवेशन हुँदा मात्र विशेष महाधिवेशन रोकिन सक्ने जवाफ दिएका छन् । ‘पुसभित्रै नियमित महाधिवेशन भए मात्र विशेष महाधिवेशनको मुद्दा स्वत: निष्क्रिय हुन्छ,’ महामन्त्रीद्वयलाई उद्धृत गर्दै निकटस्थ एक नेताले भने, ‘तर, तपाईंहरूको नियत महाधिवेशनको प्रक्रिया सुरु गर्ने र चुनावपछि धकेल्ने देखिएको हुनाले हामी विशेष महाधिवेशनको एजेन्डामा प्रवेश गरेका हौँ । विश्वसनीय आधार दिन सक्नुभएन भने पुसभित्र विशेष महाधिवेशन निर्विकल्प हो ।’

छलफलबारे जानकार केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्रीद्वय थापा र शर्मा समूहले महाधिवेशन तालिका चाहेको होइन, महाधिवेशन चाहेको हो । ‘महाधिवेशन तालिका ल्याउने, तर महाधिवेशन हुने आशंकालाई चिर्ने गरी विश्वसनीय तरिकाले अघि बढौँ भन्ने हाम्रो भनाइ हो,’ सिवाकोटीले भने । पुस पहिलो सातासम्म वडा अधिवेशनको कार्यतालिका ल्याउने र त्यसअघि सदस्यताको विवाद समाधान गर्दै पुस अन्तिम सातामा महाधिवेशन गर्ने विश्वसनीय प्रतिबद्धता संस्थापन पक्षबाट आएमा विवाद समाधान हुने इतर पक्षको विश्वास छ ।

विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्ताव फिर्ता हुनुपर्ने सर्तका अलावा संस्थापन पक्षले सदस्यता व्यवस्थापन समितिमा संस्थापन पक्षका सदस्य थप्नुपर्ने, पार्टी सदस्यता छानबिन समितिमा संयोजक र बहुमत संख्या संस्थापनको हुनुपर्ने तथा निर्वाचन समितिमा संस्थापन पक्षको बहुमत हुने गरी मनोनीत गर्न तयार हुनुपर्ने सर्त राखेको असन्तुष्ट नेताहरूको भनाइ छ । पार्टीका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतले चुनावअघि महाधिवेशन नगर्न नेतृत्वमाथि दबाब बढाएको इतर पक्षको आरोप छ ।

संस्थापन पक्षनिकट केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनबाट पार्टीमा वैमनस्य उत्पन्न हुने तर्क गर्दै चुनावअघि नियमित अधिवेशन गर्नुपर्ने बताए । ‘अहिले विभाजित मानसिकतालाई बढावा दिने कार्य गर्नुहुँदैन,’ राणाले भने । उनले मंगलबार सभापति देउवासँग भेटेका थिए । उनीसहितका केन्द्रीय सदस्यले विशेष सभा हुनुअघि बुधबार विशेष महाधिवेशन अभियानका अभियन्ता गुरुराज घिमिरे, बलदेव तिमल्सिनालगायत नेतासँग भेटेर आक्रामक नबनिदिन अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस