प्यानल नै बनाएर अध्यक्षमा उठ्दै पोखरेल

द एभरेष्ट पोष्ट
९ मंसिर २०८२ ७:४३
प्यानल नै बनाएर अध्यक्षमा उठ्दै पोखरेल

काठमाडौँ — एमालेको ११औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न लागेका केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले प्यानल बनाउने गृहकार्य थालेका हुन् । एमाले महाधिवेशन यही २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ ।

पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन् ।

त्यस्तै बिन्दा पाण्डे पनि पोखरेल पक्षबाट उम्मेदवारी दिने तयारीमा छिन् । पोखरेल पक्षबाट उपाध्यक्ष पदको उम्मेदवार पाण्डे बन्ने सम्भावना छ । महासचिवको उम्मेदवार बिष्ट र भट्टराईमध्ये कोही एक हुने र अर्कोलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारी छ । सचिवमा बिन्दाले उम्मेदवारी दिने सम्भावना छ । ज्ञवाली र शाक्यले भने उम्मेदवारी दिने रुचि देखाएका छैनन् ।

संस्थापनतर्फ ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल पुनः दोहारिने सम्भावना छ । त्यस्तै महासचिवमा प्रदीप ज्ञवालीले चाहना राखेका छन् । महासचिवमा शंकर पोखरेल दोहोरिने अवस्था नआए उनी उपाध्यक्ष र ज्ञवाली महासचिवको उम्मेदवार हुनेछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवको आकांक्षा राखेका छन् । उपमहासचिव विष्णु रिमाल पनि उपाध्यक्षको आकांक्षी छन् ।

माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ । एक महिला नेतृलाई उपमहासचिव बनाउनुपर्ने हुँदा पद्मा अर्यालको सम्भावना छ । अर्याल हाल सचिव छिन् । सचिवको आकांक्षीमा भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराई छन् ।

संस्थापनइतर पक्षबाट नेतृत्वका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आकांक्षी थिइन् । तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नवीकरण रोकेका थिए । त्यसपछि भण्डारी पक्षको समर्थनमा पोखरेललाई अध्यक्ष पदमा अघि सारिएको हो । पोखरेलले अध्यक्षका लागि ‘स्वस्थ’ प्रतिस्पर्धा गर्ने बताए । ‘मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्छु भनेको छु । यो अन्यथा मान्नुपर्ने विषय होइन,’ उनले भने, ‘योग्यता पुगेका हरेक प्रतिनिधि प्रतिस्पर्धाका लागि योग्य हुन्छन् ।

अर्कोतर्फ, ओलीलाई तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न बाटो खोल्ने गरी गत भदौ तेस्रो सातामा एमालेको विधान संशोधन गरिएको थियो । संशोधनका क्रममा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको प्रावधान हटाइएको थियो । बिहीबार सचिवालय बैठकमा ओलीले आफूसँग प्रतिस्पर्धा गरेका नेताहरू एमालेमा नरहेकाले यस्तो प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिएका थिए । ‘नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरौं । पार्टीलाई एकताबद्ध बनाएर जाऔं,’ उनले भने । शुक्रबार ‘नेसनल भोलिन्टेयर्स फोर्स’ को घोषणा कार्यक्रममा भने ओलीले नेतृत्व चयनका लागि प्रतिस्पर्धाभन्दा मिलेर जानु उचित हुने संकेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस