दोधारा-चाँदनी सुक्खा बन्दरगाहको प्रारम्भिक कार्य सम्पन्न,निर्माण छिट्टै सुरु हुने

द एभरेष्ट पोष्ट
७ मंसिर २०८२ १३:३७
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको प्रारम्भिक कार्य सम्पन्न,निर्माण छिट्टै सुरु हुने

धनगढी। कञ्चनपुरको दोधारा चाँदनी सुुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरणको काम सम्पन्न भएको छ।भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सुरु भएको बन्दरगाहमा पहिलो चरणको काम सकिएको हो।
बन्दरगाह निर्माण क्षेत्रमा रुख व्यवस्थापन गर्ने, सडकको पहुुँच मार्ग निर्माण, मजदुुर बस्नका लागि भवन निर्माण,जग्गा सम्याउने काम सकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रारम्भिक चरणको काम सकिएकाले पूर्ण रूपमा निर्माण छिट्टै सुरु हुने जानकारी दिए ।

बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्री र औजार आयातमा भन्सार छुटका लागि उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयमार्फत स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले बताए ।

सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसाथ भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको सो बन्दरगाहले आयातनिर्यातलाई सहजीकरण गर्ने उनको भनाइ छ।भारत सरकारले बन्दरगाह निर्माणका लागि तीन अर्ब ८० करोड भारतीय रुपियाँ सहयोग गर्ने छ ।

दोधारा चाँदनी बन्दरगाह भारतको सहयोगमा निर्माण गर्ने विषयमा नेपाल(भारतबिच सन् २०२३ जुन १ मा सम्झौता भएको थियो।

सम्झौता भएको दुई वर्षमा बन्दरगाह निर्माणका लागि नेपालतर्फबाट गर्ने सबै काम सकिएको समितिले जनाएको छ।बन्दरगाह निर्माणका लागि नेपालका तर्फबाट गर्ने सबै काम सकिएर कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । तीन वर्षभित्र बन्दरगाह निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस