गाजामा युद्धविराम उल्लंघन, इजरायली हवाई हमलामा ३३ जनाको मृत्यु

द एभरेष्ट पोष्ट
६ मंसिर २०८२ १२:३३
गाजामा युद्धविराम उल्लंघन, इजरायली हवाई हमलामा ३३ जनाको मृत्यु

काठमाडौं ।  गाजाको दक्षिणी क्षेत्र खान युनिसमा इजरायली सेनाले युद्धविरामकै बीच हवाई हमला गरेको छ। यस घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। मृतकमध्ये महिला र बालबालिकाको संख्या बढी रहेको बताइएको छ।

हमला शरणार्थी टेन्ट र आवासीय भवनहरू लक्षित गरी गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ। विस्थापित परिवार बसेको टेन्ट क्षेत्रमा पटक–पटक हमला भएको बताइएको छ। कतारले उक्त घटनाको निन्दा गर्दै युद्धविराम उल्लङ्घन गम्भीर रहेको बयान जारी गरेको छ।

अमेरिकी मध्यस्थतामा हालसालै लागू गरिएको युद्धविरामपछि भएको सो आक्रमणलाई शान्ति प्रक्रियाप्रति अविश्वास पैदा गर्ने घटनाका रूपमा हेरिएको छ। इजरायली सेनाले भने “सुरक्षासम्बन्धी आवश्यकता अनुसार कारबाही गरिएको” जनाएको छ। रोयटर्सका अनुसार, एक आवासीय घरमा एक बच्चासहित पूरा परिवारको मृत्यु भएको छ।

युद्धपछि गाजामा खाना, पानी र औषधिको अभाव अझै पनि कायम रहेको अन्तर्राष्ट्रिय सहायता निकायहरूले बताएका छन्। अस्पतालहरूमा पनि उपचार सामग्रीको अभाव देखिएको छ। सहायता समूह यूएनआरडब्लूएले “युद्धविराम विश्वसनीय नभए थप मानवीय क्षति हुन सक्ने” चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस