सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकतासम्बन्धमा छलफल भएको छ ।
भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाहरूलगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोग एवं सद्भावको सराहना गरे ।
साथै, मन्त्री खरेलले नेपालको विद्यमान विशिष्ट परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले निर्धारित निर्वाचनको वातावरणका लागि सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूसँग औपचारिक रूपमा वार्ता संवाद अगाडि बढाएको र बुधबार मात्रै सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच पहिलोपटक औपचारिक रूपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनका लागि सकारात्मक रहेको जानकारी गराए ।
सो अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवं समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अभिवृद्धि गर्न उत्सुक रहेको तथा भारत सरकार नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराए । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।
यसअघि सञ्चारमन्त्री खरेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।
