ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए

द एभरेष्ट पोष्ट
६ कार्तिक २०८२ २१:४८
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ड्रोन तथा क्षेप्यास्त्र हमलामा कम्तीमा सातजनाको ज्यान गएको र त्यसमा दुईजना बालबालिका रहेका बताएका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा साना बालबालिका पढ्ने किन्डरगार्टेनमा हमला भएको र किएभमा पनि ब्यापक क्षति भएको जेलेन्स्कीले बताएका हुन्। उनले निरन्तरको युद्धले मस्कोमाथि पर्याप्त दबाव नपरेको भन्ने पुष्टि भएको बताएका छन्। बालबालिकासहित कम्तीमा २७ जना घाइते भएका बताइएको छ।

केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुन लागेको शिखर बैठकको योजना स्थगित भएको बताएका थिए। उनले “व्यर्थको बैठक” नचाहेको बताएका छन्।

क्रेम्लिनले ट्रम्प र युरोपेली नेताहरूले अहिले तय गरेको अग्रमोर्चामा युद्धविरामका लागि गरेको आह्वानलाई अस्वीकार गरेको छ।

यद्यपि रुसी अधिकारीहरूले बुधवार ट्रम्प पुटिनको सम्मेलनको तयारी जारी रहेको बताएका थिए। तर अमेरिकी राष्ट्रपतिले भने त्यसलाई स्थगित गरिएको बताएका थिए।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मितिमा सहमति हुन बाँकी रहेको र सावधानीपूर्वक तयारीको आवश्यकता रहेको बताएका छन्।

उनले शिखर बैठक ‘दुवै राष्ट्रपतिको पारस्परिक चाहना’ भएको र यससँग सम्बन्धित अधिकांश ‘अफवाह’ असत्य भएको बताए।

रुसी हमलाबारे जेलेन्स्की

गत शुक्रवार वाशिङ्गटनमा ट्रम्पसँग वार्ता भएको केही दिनपछि युक्रेनका राष्ट्रपति बुधवार नर्वे पुगेका थिए। ट्रम्पसँगको भेटमा उनले अमेरिकी राष्ट्रपतिलाई लामो दूरीको टोमाहक क्षेप्यास्त्रहरू दिने विषयमा मनाउन असफल भएका थिए।

जेलेन्स्कीले ओस्लोमा पत्रकारहरूसँग अग्रमोर्चामा युद्ध रोक्ने ट्रम्पको प्रस्ताव राम्रो सम्झौता भएको तर पुटिनले त्यसलाई समर्थन गर्ने छन् भन्नेमा आफू विश्वस्त नरहेको विषयमा यो राष्ट्रपतिलाई भनेको बताए।

युक्रेनी नेताले ट्रम्प-पुटिन शिखर सम्मेलनको योजनालाई अमेरिकी टोमाहक्सका लागि आफ्नो अनुरोधसँग प्रत्यक्ष रूपमा जोडेका छन्: “जब लामो दूरीको क्षेप्यास्त्रको मुद्दा युक्रेनका लागि अलि टाढा भयो, तब लगभग स्वतः रुसले कूटनीतिमा कम चासो राख्यो।”

युक्रेनको सेनाले मङ्गलवार अबेर राति ब्रियान्स्क सीमा क्षेत्रमा रहेको रुसी रासायनिक कारखानामा युकेले आपूर्ति गरेको स्टोर्म स्याडो क्षेप्यास्त्रले आक्रमण गरेको बताएको केही समयपछि रुसले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हो।

सैन्य अधिकारीहरूले हमलालाई “एक सफल प्रहार” भनेका छन्, जसले रुसी हवाई रक्षा प्रणालीलाई छेडेको थियो। अधिकारीहरूले ब्रियान्स्क केन्द्रले “बारुद, विस्फोटक पदार्थ र रकेट इन्धन अवयवहरू उत्पादन गर्ने र त्यो गोला बारुदमा प्रयोग हुने र दुस्मनले युक्रेनको क्षेत्रमा गोलाबारी गर्न प्रयोग गरेको क्षेप्यास्त्रहरू उत्पादन” गर्ने बताए।

मृत्यु र घाइतेको विवरण

युक्रेनको राजधानीमा रुसले सेप्टेम्बर २८ यता गरेको यो पहिलो आक्रमण हो।

सहरको अग्लो भवनमा ड्रोनले आक्रमण गर्दा ६० वर्ष नाघेका एक दम्पतीको मृत्यु भएको थियो भने किएभ क्षेत्रमा चारजनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा एक महिला, ६ महिनाको बच्चा र १२ वर्षीया एक बालिका रहेका छन्।

खार्किभका अधिकारीहरूले एउटा किन्डरगार्टेनमा ड्रोन आक्रमणमा एक ४० वर्षीय व्यक्तिको मृत्यु भएको र अन्य सातजना घाइते भएका बताएका छन्। घाइतेमध्ये छजना बालबालिका पनि रहेको र दर्जनौँलाई उद्धार गरिएको बताइएको छ ।

युक्रेनको वायु सेनाले रुसले ४०५ वटा ड्रोन र २८ वटा क्षेप्यास्त्र पठाएको जनाएको छ। तीमध्ये १५ वटा बलिस्टिक क्षेप्यास्त्रहरू रहेका छन्।

बीबीसी नेपाली सेवाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Nepal’s most prolific mountaineering clan

६ कार्तिक २०८२ १७:३८

खोज्नुहोस