महाकाली किनारमा विपिनको अन्त्येष्टि

द एभरेष्ट पोष्ट
५ कार्तिक २०८२ १०:३९
महाकाली किनारमा विपिनको अन्त्येष्टि

कञ्चनपुर, ४ कात्तिक ।

हमासद्धारा ईजरायलबाट अपहरण गरी कब्जामा लिएकै अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलवार विहान महाकालीको भुजेला घाटमा दाह संस्कार गरिएको छ ।

विपिनको पार्थिव शरीरमा उनका बुवा महानन्द जोशीले दागवत्ती दिएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बीचपुरी मल्लिकार्जुन टोलस्थित घरबाट निस्किएको विपिनको शव यात्रामा हजारौको सहभागिता रहेको थियो ।

शवयात्रामा स्थानीय बासिन्दासंगै नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बास र दूतावासका कर्मचारीहरु समेत सहभागी थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा स्नातक तहमा अध्ययनरत विपिन दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परे ।

हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भयो । हमासले फालेको ग्रिनेडबाट विपिनले आफ्ना साथीहरुलाई त जोगाए । तर उनी हमासको अपहरणमा परे । दुई वर्षअघि हमासले बन्धक बनाएका विपिन जीवित नरहेको कुरा ७३८ औं दिनमा हमासले सार्वजनिक गरेको थियो । इजरायल र हामासबीच युद्धविराम भएपछि सोमबार शव हस्तान्तरण गरिएको थियो ।

फ्लाइ दुबईको विमानबाट सोमवार अपरान्ह काठमाण्डौं आईपुगेको विपिनको शवमा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेकी थिइन्। त्यसपछि काठमाण्डौंबाट सेनाको स्काई ट्रकमा धनगढी ल्याईएको विपिनको शव राति कञ्चनपुरको भीमदत्त नगरपालिका -३ बीचपुरी मालिकार्जुन टोलस्थित घरमा पुर्याईएको थियो ।

तस्वीर साभार : मनोज भट्ट, सुदूर खवर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस