बैंक ब्याजदर ५.१९ प्रतिशतमा झर्‍यो

द एभरेष्ट पोष्ट
२ कार्तिक २०८२ १०:१५
बैंक ब्याजदर ५.१९ प्रतिशतमा झर्‍यो

काठमाडौं १ कार्तिक । निक्षेपको ब्याजदर घटाएर अधिक तरलता व्यवस्थापन गर्ने प्रणालीलाई बैंक तथा वित्तीय संस्थाले कात्तिकमा पनि निरन्तरता दिएका छन् । कात्तिक महिनाभर लागू हुने गरी २० वटा वाणिज्य बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ५.१९ प्रतिशतमा झारेका हुन् ।

असोजमा यस्तो ब्याजदर ५.४४ प्रतिशतमा कायम थियो । संस्थागत निक्षेपको ब्याजदर पनि ३.९ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम गरिएको छ । २० वाणिज्य बैंकको निक्षेप संकलन ६७ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ ।

भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ६५ खर्ब ८० अर्ब रुपैयाँ थियो । यो अवधिमा निक्षेप संकलन एक खर्ब २१ अर्बले बढेको छ । निक्षेप संकलन थुप्रिँदै गइरहेको र कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूले ब्याजदर घटाइरहेका हुन् । भदौसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५६ खर्ब ३० अर्ब थियो । २९ असोजमा आइपुग्दा ५६ खर्ब ३३ अर्ब कायम छ । भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको मात्रै कर्जा प्रवाह ५० खर्ब एक अर्ब थियो । २९ असोजसम्ममा ५० खर्ब नौ अर्ब पुगेको छ । यसबिच आठ अर्बले कर्जा विस्तार भएको छ । कर्जा निक्षेपको अनुपात ७४.६६ प्रतिशत छ ।

२० मध्ये १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने पाँचवटाले स्थिर राखेका छन् । बाँकी दुईवटाले भने बढाएका छन् । ब्याजदर घटाउनेमा माछापुच्छ्रे एनएमबि, नबिल, प्राइम, प्रभु, सिटिजन्स इन्टरनेसनल, लक्ष्मी सन्राइज, एभरेष्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र कृषि विकास बैंक रहेका छन् । सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आइएमई र हिमालयन बैंकको ब्याजदर स्थिर छ भने नेपाल बैंक र सानिमा बैंकले मात्रै ब्याजदर बढाएका छन् ।

ग्लोबल आइएमई र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीमा ६ प्रतिशत ब्याजदर दिएका छन् । एनआइसी एसियाले निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ५.५ प्रतिशत छ । सानिमा बैंकको ५.१५ प्रतिशत र नेपाल बैंकको ५.१२५ प्रतिशत छ । कुमारी बैंकले ५.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी सन्राइज बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकको ब्याजदर ५ प्रतिशत छ । नबिल, प्रभु र कृषि विकास बैंकले ४.९५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस