जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भए : गृहमन्त्री

द एभरेष्ट पोष्ट
२९ असोज २०८२ १६:५९
जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भए : गृहमन्त्री

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा चुनौती थप्ने खालका गतिविधिहरू भइराखेको बताएका हुन् ।

उनले भनेका छन्, ‘सुरक्षा हामीले दिइराखेका छौं । बरु सुरक्षा समस्या नेशनल सेक्युरिटी क्राइसिस थप्ने खालका गतिविधिहरू कहीँ कैतबाट भएका छन् ।’पत्रकारहरूले सोधे, ‘कहाँबाट भएका छन् ?’गृहमन्त्रीले जवाफ दिए, ‘जो चाहीँ अपदस्थ भा’थे त्यहाँबाट (सुरक्षा चुनौती थप्ने गतिविधि) भइरहेका छन् । त्यसलाई निगरानी गरेर गरेर सुरक्षा दिन्छौं । निगरानी गर्नुपर्ने तत्वहरू को हुन् भनेर थाहा पाएका छौं ।’

पत्रकारले सोधे, ‘पुराना दलहरू (सुरक्षा चुनौती) भइराखेका छन् ?’जवाफमा गृहमन्त्रीले भने, ‘सबैलाई म जेनरलाइज गर्दिन ।’ तथापि, कतिपय एलिमेन्टहरू जसले समस्याहरू निम्त्याउन सक्लान्, जुन एलिमेन्टहरूले केही गर्लान् र तिनीहरूलाई काबुमा राख्नुपर्ला भन्ने सोचिएको थियो त्यसभन्दा फरक रूपमा गतिविधि हुन थालेको उनले बताए ।

जेनजी आन्दोलनले विस्थापित गरेका नेताहरू नै सुरक्षा थ्रेटका रूपमा देखा पर्न खोजेको उनको संकेत छ । विस्थापित भएका दलहरूले के बोध गर्नुपर्ने थियो भनेर उनले सुझाएका छन्, ‘जो विस्थापित भएका थिए, विद्रोहले जसलाई विस्थापित गरेको थियो, अपदस्थ गरेको थियो तिनीहरूलाई बोध हुनुपर्ने- हामीले सुशासन दिन नसकेको कारणले, हामीले कुशासन गरेको कारणले यो परिस्थिति आएको थियो । यसमा हामीले क्षमा माग्छौं । हामी स्टेप डाउन हुन्छौं ।’

यस्तो बोध जेनजी आन्दोलनपछि विस्थापित भएका नेताहरूमा हुन नसकेको गृहमन्त्री अर्यालको टिप्पणी छ ।

गृहमन्त्री अर्यालले अगाडि भनेका छन्, ‘…पार्टीमा पनि अरू पनि योग्य मान्छे छन् उनीहरूलाई नेतृत्व दिन्छौं, हामीले स्थिति सामान्यीकरण गर्छौं भनेर सोच्नुपर्ने थियो नि ! तर, तिनीहरू नै अहिले डुक्रिन थालेका छन् ।’

यहाँनेर उनले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न पनि भनेका छन् । ‘क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन्’ उनले भनेका छन्, ‘यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

सुशासनको मामलामा के के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ । उनको प्रतिप्रश्न छ, ‘सुशासनका लागि विद्रोह भएपछि हामीले सुशासन छोड्छ ?’

सुशासन कायम गर्दै जाँदा भ्रष्टाचारीहरू कानुनको दायरामा आउन सक्ने उनको भनाइ छ ।

बरु विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्डविपरित सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै शान्ति सुरक्षाको कुरा गरिरहेको उनले बताए ।

‘बर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनुभएको थियो, अरु काममा पनि लगाउनुभएको थियो’ उनले भने, ‘सुरक्षाकर्मी लगेर, पिएसओ लगेर ड्राइभर बनाउनुभएको थियो ड्राइभरलाई दिने पैसा बचाउनलाई ।’

अनावश्यक सुरक्षा फिर्ता गरेपछि त्यसको विरोध स्वरुप समग्र रुपमै शान्ति सुरक्षा भएन भनेर भन्न थालिएको भन्दै उनले सरकार शान्ति सुरक्षाका लागि गम्भीर रहेको बताए ।

व्यक्तिगत रूपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस