भदौमा घट्यो महँगी

काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनमा महँगी घटेको हो । गत वर्षको भदौ महिनामा यस्तो महँगीदर ३.८६ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर १.३४ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहको महँगीदर ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महँगीदर क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.७७ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२२ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.७३ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेसको १.७४ प्रतिशत, वाग्मतीको १.७२ प्रतिशत, गण्डकीको १.४७ प्रतिशत, लुम्बिनीको १.७६ प्रतिशत, कर्णालीको १.८५ प्रतिशत र सुदूरपश्चिमको ०.८८ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१ प्रतिशत, तराईको १.७० प्रतिशत, पहाडको १.६८ प्रतिशत र हिमालको २.५१ प्रतिशत रहेको छ ।