३१ प्रतिशतले बढ्यो रेमिट्यान्स, भदौमा मात्रै भित्रियो पौने २ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको भदौ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपाल भित्रने रोमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा ३ खर्ब ५२ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा २ खर्ब ६४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
२०८२ भदौ महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।