गाजामा अस्ताएको जोशी परिवारको आशाको दियो

द एभरेष्ट पोष्ट
२८ असोज २०८२ ७:२१
गाजामा अस्ताएको जोशी परिवारको आशाको दियो

खेमराज उपाध्याय
धनगढी, २८ असोज ।

अन्ततः ७३८ औं दिनमा ईजरायलबाट आएको खवरले नेपालीहरुलाई निराश बनायो । हमासद्धारा ७ अक्टोबर २०२३ मा ईजरायलको सीमाबाट अपहरित विपिन जोशी जीवित नरहेको खवरले संसारभरीका नेपालीहरुलाई स्तब्ध बनाएको छ ।

हमासका तर्फबाट ईजरायली सरकारलाई विपिन जोशीको अवस्थाका बारेमा दिईएको जानकारी पत्याउनु बाहेक अर्को बिकल्प परिवारजनसंग छैन् ।विपिनको अपहरणका ७३७ दिनका हरेक पल बुवा महानन्द, आमा पद्मा र बहिनी पुष्पाले छटपटीमा बिताए । विपिनको सकुशल रिहाइका लागि भाकल गरे । सरकारसंग अनुनय गरे । हमाससंग बिन्ति बिसाए । आमा पद्मा र बहिनी पुष्पा ईजरायल पुगिन्, त्यहीबाट पनि विपिनको सकुशल रिहाईका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय जगतसंग आग्रह गरिन् ।

हमासलाई विपिनको रिहाईका लागि थप दवाव दिन आमा पद्मा र बहिनी पुष्पा संयुक्त राष्ट्रको महासभामा भाग लिन अमेरिका पुगिन् ।

विपिनको अवस्थालाई लिएर बेलाबेलामा आउने नकारात्मक खवरले उनीहरु हतोत्साही हुन्थे । र, फेरि केही दिनमै आउने सकारात्मक खवरले उनीहरु उत्साही हुन्थे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हमास र ईजरायल सरकारबीच युद्धबिराम भएपछि विपिन फर्किने आशा बलियो भयो । परिवारजन उनी फर्किनेमा आशावादी भए ।

अपहरण गरेयता हमासले विपिनको अवस्था सार्वजनिक गरेको थिएन् । चार दिन अघि विपिनको एउटा भिडिओ सन्देश सार्वजनिक भयो । जुन भिडिओ हमासको नियन्त्रणमा गाजामा रहेका बेला विपिन अपहरण भएको एक महिनापछि (नोभेम्बर २०२३) लिईएको थियो । त्यो भिडिओ सार्वजनिक भएपछि विपिन जीवित रहेको अनुमानमा बल पुग्यो ।

त्यसपछि हमासका तर्फबाट अपहरित ४८ जनाको तस्वीर सार्वजनिक भयो । जसमा विपिनको समेत तस्वीर थियो । यद्दपि त्यसमा मृत व्यक्तिहरुको समेत तस्वीर समावेश थियो । यसैबीच केही अन्तर्राष्ट्रिय मिडियाहरुले विपिन जीवित नरहेको समाचार प्रकाशन गरे । र, त्यसलगत्तै केही भरपर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विपिन जीवित रहेको समाचार मात्र प्रकाशित गरेनन्, हमासद्धारा रिहा गर्न लागिएका २२ जनाको सूचिमा उनको नाम समेत समावेश गरे ।

जोशी परिवार र आम नेपालीका लागि यो अत्यन्त खुशीको खवर थियो । निराश र हताश परिवार जनमा यो खवर अप्रत्याशित तर अत्यन्त सुखद थियो ।

जव हमासद्धारा अपहरितहरु मुक्त हुदै गए । र, ती मुक्त भएकाहरुमा विपिन देखिएनन्, र त्यहीबीच हमासद्धारा विपिनका बारेमा जे जानकारी ईजरायल सरकारलाई दिईयो, त्यो खवरले परिवारजनलाई अत्यन्त निराश बनायो ।

अनेकौ आशंका र अड्कलका बीच विपिन जीवित हुनसक्ने परिवारजनको आशाको त्यान्द्रो चुडिएयो ।

दाईको रिहाईका लागि अमेरिकामा दवाव सृजना गरिरहेकी बहिनी पुष्पा, छोरा जीवित फर्किने आशामा ७३७ रात अनिदा बिताएका बुवा महानन्द र आमा पद्माले विपिन जीवित नरहेको खवर पत्याउनु बाहेक अर्को बिकल्प रहेन ।

जोशी परिवारको आशाको दियो निभ्यो । बुवाआमाले बुढेसकालको सहारा गुमाए । बहिनी पुष्पाले भरोसा, आड र आँट गुमाईन् ।
बुवा,आमा र बहिनीको ७३७ दिन लामो छटपटी, बेचैनी र अविचलित पर्खाईको दुःखद अन्त्य भएको छ ।

हो, विपिन जीवित रहेनन् । उनी फर्केर आउने छैनन् । सुदूरपश्चिम विश्व विद्यालयमा कृषि विज्ञान संकायको स्नातक तहमा अध्ययनका क्रममा ‘लर्न एण्ड अर्न’ को सपना बोकेर दुई वर्षअघि ईजरायल पुगेका विपिन हमासको आक्रमणमा मारिने ११ औं नेपाली विद्यार्थी भएका छन् । उनीसंगै रहेका १० जना हमासको आक्रमणमा मारिएका थिए । चार जना घाईते भए । दुई जना मात्र सकुशल नेपाल फर्किएका थिए । दुई वर्षदेखि विपिन जीवित फर्किने आशा  सोमवार निराशामा परिणत भयो ।

तर परिवारलाई अझै पत्याउन मुस्किल भईरहेको छ । परिवारजनमा अझै उनी जीवित फर्किने आशा छ ।

हुन त, यी ७३८ दिनमा नेपाल सरकार र नेपाली मिडियाले विपिनलाई कैयौ पटक मृत घोषित ग¥यो, कैयौं पटक जीवित बनायो । आधिकारिक निकायबाटै फैलाईएका यस्ता अफवाह र समाचारले परिवारजनलाई कति पीडा दियो होला, त्यसको हामी कल्पनासम्म गर्न सक्दैनौ ।

विपिन अपहरणमा परेयता परिवारजनका आँखामा आँशु थामिएका थिएनन् । सहनै नसक्ने पीडा र पत्याउनै नसिकने यो खवरले जोशी परिवार शोकाकुल छ ।

योबीचमा भ्यूज बटुल्ने नाममा मान्छेको संवदेना र आँशुको व्यापार गर्ने युट्युव र मिडियाहरुले समेत विपिनलाई समाचारको मसाला मात्र बनाए ।

अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने सरकार नै भरपर्दो सूचना संवाहक नबन्दा जोशी परिवारले भोगेको पीडा शब्दमा व्यक्त गर्न सकिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस