नापी कार्यालय कैलालीमा ९५ लाख बरावरको क्षति

द एभरेष्ट पोष्ट
२४ असोज २०८२ १३:२३
नापी कार्यालय कैलालीमा ९५ लाख बरावरको क्षति

कैलाली । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी भएको नापी कार्यालय कैलालीमा ९५ लाख बराबरको क्षति भएको छ । ६५ लाख बराबरका दुई गाडी, एउटा मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज कुर्सीहरू जलेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय कैलालीका प्रमुख जनक राज भट्टले कार्यालयका सबै अभिलेखहरू भने सुरक्षित रहेको बताए । ‘भौतिक र आर्थिक क्षति भए पनि नापीका सबै अभिलेखहरू सुरक्षित छन् । सेवाग्राही समस्यामा पर्ने अवस्था छैन,’उनले भने । उनका अनुसार कार्यालयको नक्सा प्रिन्ट गर्ने कोठा आगलागीबाट बढी प्रभावित भएको हो ।

त्यसमा केही सामान्य कागजातहरू जले पनि महत्त्वपूर्ण डाटामा क्षति नपुगेको उनले बताए । भदौ २४ देखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सुचारु भएको कार्यालय जनाएको छ । क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति विभागमा पठाएको र त्यहाँबाट सहयोग आए पुनः निर्माणको काम सुरु हुने कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

मालपोत कार्यालयको सेवा पनि सुचारु 

भूमिसुधार तथा मालपोत र नापी कार्यालय कैलालीको   भवन सँगै जोडिएका छन्  । आगलागीबाट नापी भन्दा मालपोतमा बढी क्षेति पुगेको छ । यद्यपि मालपोतले पनि आफ्नो सबै काम सुचारु गरिसकेको छ । कार्यालयका सूचना अधिकारी दिलाराज भट्टका अनुसार असोज सात गते देखि सेवा प्रवाह सुचारु भइसेको हो ।

आगलागीबाट कार्यालयका तीन वटा कोठामा पूर्ण क्षति पुगेको छ । जस मध्य रजिस्ट्रेसन फाँट, स्टोर फाँट र दर्ता चलानी फाँट प्रभावित भएका छन् । अन्य कोठाहरूमा पनि आंशिक क्षेति भएको सूचना अधिकारी भट्टले जानकारी दिए । आगलागीबाट पुरै भवनको वायरिङ,नेटवर्किङमा पनि क्षेति पुगेको थियो ।

लालपुर्जा केही मात्रामा जले पनि अन्य सबै विवरण सुरक्षित रहेका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भौतिक तर्फ भवनमा क्षति, तीन वटा गाडी, दुई मोटरसाइकल, सबै कोठाका कम्प्युटर, स्क्यानर,प्रिन्टर, नष्ट भएका छन् । यद्यपि विभिन्न ठाउँबाट कम्प्युटर, प्रिन्टर, वायरिङ लगाएतको सहयोग पाएपछि काम सुरु भएको सूचना अधिकारी भट्टले जानकारी दिए । उनका अनुसार यो घटना पछि राजस्व सङ्कलनमा भने भारि गिरावट आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस