एसियन पर्यटन मेलामा बोर्डले भन्यो- नेपाल पर्यटकको स्वागतका लागि तयार छ

द एभरेष्ट पोष्ट
५ असोज २०८२ १२:२९
एसियन पर्यटन मेलामा बोर्डले भन्यो- नेपाल पर्यटकको स्वागतका लागि तयार छ

काठमाडौं । बङ्गलादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो ।

हालैको जेन-जी आन्दोलनका क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यावसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो । यसले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकहरूको सुरक्षित स्वागतका लागि तयार रहेको सन्देश बंगलादेशका पर्यटन व्यवसायी र पर्यटकहरूलाई दिएको छ ।

नेपालका लागि बङ्गलादेशस्थित राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगले विभिन्न चुनौतीबिच पनि छिटो पुनरुत्थान गर्न सक्ने क्षमता रहेको उल्लेख गरेका छन् । उनले नेपाल–बङ्गलादेशबिचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको बताएका छन् । सोही मेलामा राखिएको नेपाल स्टलमा ठूलो सङ्ख्यामा आगन्तुकहरूको उपस्थिति रहेको थियो ।

स्टलमार्फत सहभागी नेपाली कम्पनीहरूले नयाँ अवसर पहिचान गर्न, पुराना सम्बन्धलाई नवीकरण गर्न र आफ्ना प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

कयौँ बङ्गलादेशी आगन्तुकहरूले हालैको जेन–जी आन्दोलनपछिको नेपालको अवस्थाबारे जिज्ञासा राखे पनि उनीहरूले नेपाल छिटो सामान्य अवस्थामा फर्किएको देखेर सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले बङ्गलादेशमै विगत
वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् ।

बङ्गलादेश नेपालका लागि तीव्र रूपमा बढ्दो पर्यटक बजार बन्दै गएको छ । सन् २०२४ मा नेपालले करिब ४९ हजार बङ्गलादेशी पर्यटक स्वागत गरेको थियो भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमता नेपालका लागि ‘अवसर’ साबित भएको छ ।

यस वर्षको मेलामा आठ विभिन्न देशका १५० संस्था सहभागी भएका थिए । १८० स्टलमार्फत पर्यटनसम्बन्धी सेवा र प्याकेजहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस