हमासको ‘बिदाइ तस्बिर’मा विपिन

काठमाडौं ५ असोज । इजरायलले गाजामा सैन्य कारबाही बढाएपछि हमासको सशस्त्र शाखाले शनिबार गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ भन्दै सामूहिक फोटो सार्वजनिक गरेको छ । अलजजिरा र इजरायलका सञ्चारमाध्यमले प्रकाशन गरेको सामूहिक तस्बिरमा २३ असोज ०८० देखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पनि छन् ।
अनलाइनमार्फत सार्वजनिक तस्बिरमा जीवित र मृतक बन्दीहरूको अनुहार देखाइएको छ र सबैको नाममा ‘रोन अराड’ लेखिएको छ । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेनसँग सम्बन्धित छ । उनलाई हमासले नियन्त्रणमा लिएर मारेको मान्ने गरिन्छ ।
हमासले बिहीबार नै इजरायली आक्रमण बढ्दै गए बन्दीको जीवन संकटमा पर्न सक्ने चेतावनी दिएको थियो । हमासको अल–कस्साम ब्रिगेडको वक्तव्यमा थियो, ‘तिमीहरूका बन्दीहरू गाजासिटीका बस्तीहरूमा फैलिएका छन्, । अपरेसन विस्तारको अर्थ हो कि तिमीहरूले कुनै पनि बन्दी प्राप्त गर्नेछैनौँ–न त जीवित, न त मृत । गाजा तिम्रा सैनिकहरूको चिहान हुनेछ ।’
यसैको श्रृंखलामा हमासले शनिबार बिदाइ तस्बिर भनेर सार्वजनिक गरेको हो । ‘हमास समूहको कास्साम ब्रिगेडले गाजामा रहेका ४८ जना बन्दीको एउटा तस्बिर सार्वजनिक गरेको छ, जसलाई उसले बिदाइ तस्बिर भनेर उल्लेख गरेको छ,’ अलजजिरामा माजियार मोतामेदीले समाचार लेखेका छन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसबारे कुनै जानकारी नभएको बताए । ‘आधिकारिक रूपमा यस सम्बन्धमा हामीलाई जानकारी आएको छैन,’ राजदूत पण्डितले टेलिफोनमा नयाँ पत्रिकासँग भने । राजदूत पण्डितलाई विपिनका परिवारले पनि सोधखोज गरेका थिए । उनले परिवारलाई पनि आफूलाई जानकारी नभएको र इजरायली अधिकारीसँग सम्पर्क गरेर जवाफ दिने बताएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग कुनै पनि सहमति गर्न अस्वीकार गरेको र इजरायली सेना प्रमुख एयाल जामिरले आक्रमण जारी राखेकै वेला हमासको चेतावनी आएको अलजजिराले जनाएको छ । बिदाइ तस्बिर सार्वजनिक हुनुलाई इजरायली अधिकारीले भने परिवारजनमार्फत हमास समूहले सैन्य अपरेसन रोक्न दिएको दबाबका रूपमा लिएका छन् ।
हमासको कब्जामा रहेका ५० मध्ये २० जना जीवित रहेको इजरायली अधिकारीहरूको विश्वास छ । इजरायलको सुरक्षा फौजले परिवारजनलाई बन्दीहरूको अवस्थाबारे यकिन सूचना नभएको जानकारी दिएका छन् । टाइम्स अफ इजरायलले शनिबार प्रकाशित गरेको समाचारअनुसार हमासको कब्जामा रहेकामध्ये कम्तीमा २६ जनाको मृत्यु पुष्टि भइसकेको छ र उनीहरूको शव हमासको नियन्त्रणमा छ । ‘२० जना अझै जीवित रहेको विश्वास गरिन्छ भने दुईजनाको अवस्था गम्भीर भएको आशंका छ,’ जेरुसेलम पोस्टले लेखेको छ ।
०८० असोज २३ मा निर ओज र किबुज आलुमिमबाट हमास समूहले गरेको हमलापछि उसले २५१ जनालाई अपहरण गरेको थियो । गत वर्ष जनवरीदेखि मार्च २०२४ सम्म भएको युद्धविरामको अवधिमा हमासले ३० जना बन्धक (२० जना इजरायली नागरिक, पाँचजना सैनिक र पाँचजना थाई नागरिक)लाई मुक्त गरेको थियो भने आठजना मृत इजरायली बन्धकको शव पनि फर्काइएको थियो । मे २०२४ मा हमासले एकजना अमेरिकी–इजरायलीलाई पनि रिहा गरेको थियो ।
त्यसअघि, नोभेम्बर २०२३ को अन्त्यमा भएको सातदिने युद्धविरामका क्रममा हमासले १०५ जना नागरिकलाई रिहा गरेको थियो । त्यहीबिचमा थप चारजना बन्धक मुक्त भएका थिए । तर, नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात छ ।